काठमाडौं । सेयर बजारमा लगानी गर्ने विभिन्न रणनीतिहरु मध्ये म्युचअल फण्डले लिएका बाटो पछ्याउनु पनि एक हो । म्युचअल फण्ड वित्तीय क्षेत्रलाई बुझेका र प्राविधिक, आधारभूत लगायत अन्य विविध दृष्टिकोणबाट विश्लेषण गरेर सेयर बजारका अलावा अन्य वित्तीय उत्पादनहरुमा पनि लगानी गरेर आफ्नो पोर्टफोलियो बनाउने भएका कारण उनीहरुको रणनीति पछ्याउदाँ तुलनात्मक रुपमा आफ्नो लगानीलाई सुरक्षित बनाउन सकिन्छ भन्ने मान्यता स्थापित भएको हो ।
साथै, सेयर बजार लगायत लगानीका अन्य वित्तीय क्षेत्रहरु राम्रोसँग नबुझेका वा समय नभएकाले म्युचल फण्डमै लगानी गरेर आफ्नो लगानी सुरक्षित गर्नुका अलावा बैंकको व्याजदर भन्दा केही बढी लाभांश पनि कमाइरहेका छन् ।
नेपालमा हाल १७ वटा म्युचल फण्डहरु रहेका छन् । ती मध्ये केही भर्खरै परिपक्व भएका छन् भने केही नयाँ पनि छन् । यी सबै म्युचल फण्डले विभिन्न वित्तीय क्षेत्र वा उपकरणहरुमा गरेर गत असोज महिनामा ७ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेका छन् । उनीहरुले भदौ महिनामा ८ अर्ब १६ करोड रुपैयाँ लगानी गरेका थिए ।
म्युचअल फण्डहरुले गत भदौ महिनामा ५ अर्ब ९६ करोड रुपैयाँ बैंकमा जम्मा गरेका थिए भने असोजमा उनीहरुले बैंक व्यालेन्स घटाएर ५ अर्ब ५१ करोड रुपैयाँमा झारेका छन् ।
यहाँ हेर्नुपर्ने महत्वपूर्ण कुरा के हो भने म्युचअल फण्डहरुले आफूसँग भएको सबै पैसा सेयरमा मात्र लगानी गरेका छैनन् । उल्लेख्य हिस्सा बैंकमा राखेका छन् । त्यसपछि डिबेन्चर किनेका छन् र प्राथमिक सेयरमा पनि लगानी गरेका छन् ।
म्युचअल फण्डहरुले डिबेन्चर र सार्वजनिक सेयरहरुमा १ अर्ब १३ करोड रुपैंयाँ लगानी गरेका छन् । यसैगरी उनीहरुले २४ करोड ४१ लाख प्राथमिक साधारण सेयरमा लगानी गरेका छन् ।
म्युचअल फण्डहरुले लगानी गरेका १० प्रमुख सूचिकृत कम्पनीहरुमा नेपाल बैंक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयर, एनएमबी बैंक, कृषि विकास बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंक रहेका छन् ।

उनीहरुले नेपाल बैंकमा ४१ करोड ४६ लाख, नबिल बेंकमा ३९ करोड १७ लाख, नेपाल लाइफमा २६ करोड ५४ लाख, नेपाल टेलिकममा २१ करोड ६५ लाख, इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरमा २१ करोड ५६ लाख, एनएमबी बैंकमा १९ करोड ९८ लाख, कृषि विकास बैंकमा १९ करोड ६३ लाख, प्रभु बैंकमा १८ करोड ५३ लाख, ग्लोबल आइएमई बैंकमा १७ करोड ६३ लाख र एभरेष्ट बैंकमा १७ करोड ३ लाख रुपैंयाँ लगानी गरेका छन् ।
यहाँ हेर्नुपर्ने महत्वपूर्ण कुरा के हो भने उनीहरुले आफूसँग भएको सबै पैसा सेयरमा मात्र लगानी गरेका छैनन् । उल्लेख्य हिस्सा बैंकमा राखेका छन् । त्यसपछि डिबेन्चर किनेका छन् र प्राथमिक सेयरमा पनि लगानी गरेका छन् ।
यसले नवलगानीकर्ता लाई कसरी आफ्नो पोर्टफोलियो बनाउने भन्ने सन्दर्भमा केही राम्रै संकेत गर्दछ । साथै, म्युचअल फण्डले लगानी गरेका प्रमुख १० कम्पनीहरुलाई हेरेर किन उनीहरुले ती कम्पनीहरुमा लगानी गरे होलान् भनेर घोत्लिने अवसर पनि पक्कै दिन्छ ।