काठमाडौं। सनराइज बैंकले बुधबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ।
बैंकले ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ नामक ऋणपत्र बिक्रीमा ल्याएको हो । यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन् । बैंकको ऋणपत्र सात वर्ष अवधिको हुनेछ। यसको ब्याज भुक्तानी प्रत्येक ६/६ महिनामा हुनेछ।
बैंकले मंगलबार पत्रकार सम्मेलन गर्दै ऋणपत्र जारी सम्बन्धी जानकारी दिएको छ । सो कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि सनराइजको ऋणपत्र उपयुक्त रहेको बताए।
बैंकले बिक्रीमा ल्याउने ३ अर्ब रुपैयाँको ३० लाख कित्ता जसमध्ये १२ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन भने सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ६० हजार कित्ता पाउनेछन् । बाँकी रहेको १८ लाख कित्ता बैंक आफैले विभिन्न संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।
यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने छ । यस ऋणपत्रमा प्रति कित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
यस ऋणपत्रलाई केयर नेपालले ‘केयर एनपी ए माइनस’ रेटिङ दिएको छ । ऋणपत्रमा छिटोमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा बिक्री नभएमा मंसिर १९ गतेसम्म आवेदन दिन पाइने छ ।
ऋणपत्रमा बैंकका सबै शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नारायाणचौर तथा सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।