एउटै जिल्लाका ८६ उद्योग खारेजीमा

धनगढी । कैलाली जिल्लामा सञ्चालनमा रहेका विभिन्न ८६ वटा उद्योग बन्द भई खारेजीमा परेका छन् । कच्चा पदार्थको अभावलगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित मालको बजार मूल्यसँग प्रतिष्पर्धा गर्न नसकेर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

 

यसबाहेक उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि कतिपय उद्योग बन्द भएको बताइएको छ । खाने तेल, सिमेन्टको ब्लक, पोल्ट्री फार्म, ब्युटीपार्लर जस्ता उद्योग बन्द भई खारेजीमा परेको कार्यालयका उद्योग अधिकृत नवराज भट्टले बताए ।

 

जिल्लामा पछिल्लो समयमा उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरुपमा बढ्दै गएको देखिएको छ । महिलाको नाममा प्राइभेट फारामको दर्तामा छुटको कानूनी व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो । “रु एक करोडसम्मको कूल पूँजी भएका निजी फाराम महिलाका नाममा दर्ता गर्न दर्ता शुल्कमा छुटको कानूनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य बढेको छ”, उद्योग अधिकृत भट्टले भने ।

 

चालू वर्षको तीन महीनामा कार्यालयमा ३२७ नयाँ उद्योग दर्ता भएकामा यीमध्ये ९५ वटा उद्योग महिलाका नाममा दर्ता भएका छन् । यसअघि विगतका वर्षमा महिलाका नाममा निकै न्यून सङ्ख्यामा प्राइभेट उद्योग दर्ता हुने गरेका थिए । साझेदारी फाराम दर्तामा भने छुटको व्यवस्था छैन । कार्यालयमा गत आर्थिक वर्षमा एक हजार २३४ नयाँ साना उद्योग दर्ता भएका थिए ।

 

अहिलेसम्म कार्यालयमा दर्ता भएका कूल सात हजार ५७४ उद्योगमा १० अर्ब रुपैयाँ लगानी भइसकेको छ । तीन करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योगलाई साना उद्योग तीन करोडदेखि १० करोड रुपैयाँ स्थिर पूँजी भएको उद्योगलाई मझौला उद्योग र योभन्दा माथिको स्थिर पूँजी भएको उद्योगलाई ठूला उद्योग मानिन्छ ।

 

सुदूरपश्चिम प्रदेश सरकारले चालू वर्षमा ‘एक स्थानीय तह एक औद्योगिक उत्पादन’ कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रदेशको अर्थतन्त्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न टेवा पुर्याउनका लागि ‘एक निर्वाचन क्षेत्रमा दुई नवीन उद्योग’ सञ्चालन गर्ने नीतिअनुरुप तीन करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । रासस

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको लगानी ७ वर्षमा उठ्ने, मुआब्जा वितरणमै ६ अर्ब खर्च हुने Read Previous

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको लगानी ७ वर्षमा उठ्ने, मुआब्जा वितरणमै ६ अर्ब खर्च हुने

सेयर बजारमा लगानी गर्दा म्युचअल फण्डको रणनीति पछ्याउने कि ! Read Next

सेयर बजारमा लगानी गर्दा म्युचअल फण्डको रणनीति पछ्याउने कि !