पुरानो स्मार्टफोनलाई यसरी गर्न सकिन्छ नयाँ जसरी प्रयोग

स्वाभाविक रुपमा पुरानो स्मार्टफोनको तुलनामा नयाँ फोन राम्ररी चल्छ । तर, फोन पुरानो हुँदैमा नयाँ फेरिहाल्न सबैलाई सम्भव हुँदैन । पक्कै पनि सबैको आम्दानीले भ्याउदैन । यस्तो अवस्थामा पुरानो स्मार्टफोन कसरी राम्रोसँग चलाउने भन्ने धेरैको टाउको दुखाइको विषय बन्ने गर्दछ ।

 

पुरानो स्मार्टफोन नयाँ जस्तो छिटो त पक्कै पनि चल्दैन । यद्यपि यसलाई राम्ररी चलाउन भने अवश्य पनि सकिन्छ । यहाँ तिनै विषयलाई लिएर केही चर्चा गरिएको छ :

 

नियमित सफ्टवेयर अपडेट

 

जहिले पनि स्मार्टफोनमा रहेको सफ्टवेयरको पछिल्लो संस्करण आफ्नो फोनमा चलाउनुपर्छ । पछिल्लो संस्करणमा यसअघि देखिएका सुरक्षा, गोपनीयता, ह्याक हुने खतरा लगायत समस्या समाधान गरिएको हुन्छ । साथै, उक्त सफ्टवेयर स्मार्टफोनमा राम्रोसँग चल्न सक्नेगरी बनाइएको हुन्छ ।

 

कहिलेकाहीँ पुरानो स्मार्टफोनमा नयाँ ‘भर्सन’ अपडेट गर्दा केही समस्या पनि आउन सक्छ । तर, सफ्टवेयरको नयाँ ‘भर्सन’ अपडेट गर्दा नै स्मार्टफोनलाई केही हदसम्म नयाँ जसरी चलाउन सकिन्छ ।

 

स्पेस खाली गर्ने

 

पुरानो स्मार्टफोन नयाँ जसरी नचल्नुको अर्को कारण फोनमा पर्याप्त स्पेस नहुनु हो । फोनमा रहेका फोटो, भिडियो तथा अन्य धेरै कुराले ‘इन्टर्नल स्पेस’ भरिँदै जान्छ, जसको कारण स्मार्टफोन राम्रोसँग चल्न छाड्छ । यसका लागि एन्ड्रोइड फोनमा गुगल फोटोज र आईफोनमा आईक्लाउडको प्रयोग गरी स्मार्टफोनमा रहेका सबै फोटो सुरक्षित राखेर इन्टर्नल स्पेस खाली गर्न सकिन्छ ।

 

साथै मोबाइलमा राखिएका प्रयोग नहुने एप्लिकेशनहरु हटाउँदा पनि यो समस्याको समाधान हुन सक्छ । फोनमा रहेका अनावश्यक डेटाहरु पनि बेलाबेलामा सफा गरिरहनुपर्छ । यसो गर्दा मोबाइलमा पर्याप्त स्पेस हुन्छ र फोन राम्रोसँग चल्न थाल्छ ।

 

ब्याट्री समस्याको पहिचान

 

अहिले स्मार्टफोन प्रयोगकर्तामध्ये धेरैको समस्या स्मार्टफोनको ब्याट्रीको हुने गरेको छ । यस्तोमा सबैभन्दा पहिला ब्याट्री सबैभन्दा बढी केमा खपत भइरहेको छ भन्ने पहिचान गर्नु जरुरी हुन्छ । त्यसपछि धेरै प्रयोग नहुने तर अत्यधिक ब्याट्री खपत हुने एपहरु हटाउनुपर्छ । यसले ब्याट्री छिट्टै सकिने समस्या कम गर्छ ।

 

तर, यसो गर्दा पनि ब्याट्री टिकेन र यसले राम्रोसँग काम गर्न सकेन भने ब्याट्रीलाई परिवर्तन गर्नु नै राम्रो हुन्छ । ब्याट्रीका लागि विभिन्न किसिमको अफर तथा वारेण्टीको समेत सुविधा पाइन्छ । राम्रो ब्याट्री परिवर्तन गरेसँगै स्मार्टफोन पनि लामो समयसम्म सहि ढङ्गले चल्न सक्छ ।

 

फोनलाई सुरक्षित राख्ने

 

फोनको स्क्रिनमा केही समस्या देखिनु वा फोनको स्क्रिन फुट्नु जस्ता समस्याका कारण धेरै मानिसले नचाँहदा नचाँहदै पनि नयाँ स्मार्टफोनको खरिद गर्नुपर्ने बाध्यता रहन्छ । यस प्रकारका समस्याबाट बच्न स्क्रिन बचाउने स्क्रिन प्रोटेक्टर र फोन कभरको प्रयोग गर्न सकिन्छ ।

 

फोनमा कभर लगाउने तथा स्क्रिन प्रोटेक्टर राख्ने बानीले फोनलाई सुरक्षित राख्न सघाउँछ । साथै मोबाइल पनि सुरक्षित तरिकाले प्रयोग गर्न सकिन्छ ।

ग्लोबल आइएमई बैंकको खुद नाफा ४१ प्रतिशतले वृद्धि, अरु सूचकमा कस्तो छ प्रगति Read Previous

ग्लोबल आइएमई बैंकको खुद नाफा ४१ प्रतिशतले वृद्धि, अरु सूचकमा कस्तो छ प्रगति

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको लगानी ७ वर्षमा उठ्ने, मुआब्जा वितरणमै ६ अर्ब खर्च हुने Read Next

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको लगानी ७ वर्षमा उठ्ने, मुआब्जा वितरणमै ६ अर्ब खर्च हुने