हाइड्रोले मुहार फेरेको एउटा गाउँ, जहाँ छन् ४२१ मेगावाटका ९ आयोजना

गलेश्वर । विसं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो । त्यसयता हालसम्म यहाँ साना र ठूला गरी ९ जलविद्युत अयोजना सञ्चालनका लागि निर्माण कार्य सुरु भएकाले यहाँको स्वरूप फेरिएको छ ।

जलविद्युत आयोजना निर्माण हुने क्रम बढेसँगै यहाँ बसाइँसरेर आउने मानिस उल्लेख्य रूपमा वृद्धि भएको छ । ३ दशक अघिसम्म ७०÷७५ घरधुरी रहेकामा अहिले ५०० भन्दा बढी घरधुरीको बसोवास छ । यस वर्ष मात्रै करिब ४० भन्दा बढी व्यक्ति अरु गाउँबाट बसाइँ सराइ गरी यहाँ आएका छन् । पछिल्लो सयम नारच्याङ ‘हाइड्रो भिलेज’का नामले चर्चित छ । यहाँ केही निर्माणाधीन र केही निर्माण सम्पन्न भएका ४२१ मेगावाटका ९ जलविद्युत आयोजना सञ्चालनमा छन् ।

यी आयोजनामा काम गर्न उत्तरी म्याग्दीका विभिन्न गाउँबाट बसाइँ सरेर अहिले नारच्याङ् आउनेको सङ्ख्या बढ्दै गएको वडाअध्यक्ष लोकबहादुर फगामीले बताए । उनका अनुसार जलविद्युत आयोजना निर्माणका कारण यहाँका युवाले गाउँमै रोजगार पाएका छन् । रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटेको छ । आयोजनामा सेयर लगानी गर्ने र लगानीबापत पाउने बोनस रकमले यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको छ ।

उक्त गाउँपालिका–५ पाउद्वारबाट बसाइँसरेर नारच्याङमा आएका फत्तेबहादुर तिलिजाले गाउँमै रोजगारीका साथै सुरक्षित व्यवसायको सम्भावना देखेर यहाँ आएको बताए। ‘पोखरा, काठमाडौँलगायत सहरमा जान सकिँदैन, यहाँ जलविद्युत आयोजना धमाधम निर्माण भइरहेका छन्, आफ्नै गाउँघरमा रोजगारी पाइने भएपछि परिवारको सुरक्षित भविष्यका लागि पाउद्धारबाट बसाइँसरेर यहाँ आएका हौँ,’ उनले भने।

एक वर्षयता ४० भन्दा बढी बसाइँ सरेर यहाँ कामका लागि आएका छन् । काम र शिक्षाका लागि बसाइँ सर्ने क्रम नरोकिएकाले यहाँ आउनेको सङ्ख्या अझै बढ्ने वडा नं ४ का वडासचिव अमृत नेपालीले जानकारी दिए ।

नारच्याङमा जलविद्युत निर्माण हुनाका साथै प्राविधिक शिक्षालय सञ्चालन भएपछि इन्जिनियरिङ पढ्न यहाँ आउनेहरुले पनि बसाइँ सर्ने गरेका उनको भनाइ थियो । रोजगारीसँगै गुणस्तरीय शिक्षा पाइने भएपछि बसाइँसराइ गरेर आउनेको सङ्ख्या बढेको वडाअध्यक्ष फगामीले बताए ।

‘यहाँबाट रोजगारी तथा शिक्षाका लागि काठमाडौँ, पोखरालगायत सहरमा गएका व्यक्ति पनि धमाधम गाउँ फकिँदैछन्, बाहिरबाट बसाइँसराइ गरेर आउनेहरु पनि थपिएका छन्,’ उनले भने ‘जलविद्युतले जग्गाको मूल्य राम्रै दिएको छ । पुराना घर हट्दै नया पक्की घर बनेका छन् । स्थानीयवासीले गाउँमै रोजगारी पाउनाका साथै होटल सञ्चालन गरी व्यावसाय गरेर पर्यटक समेत भ्यिाएका छन् ।’

कालिगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा गरी दुई दर्जन बढी जलविद्युत आयोजना म्याग्दीमा निर्माणाधीन अवस्थामा छन् । तीमध्ये ९ वटा जलविद्युत आयोजना नारच्याङमा मात्रै सञ्चालित छन् ।

कालिगण्डकी नदीसँगै अन्नपूर्ण र नीलगिरि हिमालबाट बग्ने मिस्त्री, घलेम्दी, नीलगिरि, रेलेखोलालगायत खोलामा जलविद्युत आयोजना निर्माण हुन थालेपछि यहाँका बासिन्दाकोे जीवनस्तर फेरिएको वडासदस्य यामकुमारी सोतन्जाले बताइन् ।

जलविद्युत आयोजना भित्रिएसँगै गाउँका युवा रोजगारीका लागि विदेश जानेक्रम कम हुँदै गएको अन्नपूर्ण युवा क्लबका अध्यक्ष टङ्कबहादुर पुलने बताए। ‘पहिले गाउँमा रोजगार नहुँदा ‘विदेश, विदेश भन्थे’, अहिले धमाधम जलविद्युत आयोजनाले युवालाई रोजगारी दिएकाले उनीहरुको दैनिक जीवन सहज भएको छ,’ उनले भने । अन्नपूर्ण र नीलगिरि हिमालको काखमा रहेको नारच्याङ्का ५०० घरधुरीका प्रत्येक व्यक्ति गाउँमा नै रोजगार छन् ।

विसं २०४४ मा दुई मेगावाटको तातोपानी जलविद्युत आयोजना निर्माण भएपश्चात् ४० मेगावाटको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् ।

त्यस्तै, १०७ मेगावाटको नीलगिरि खोला–एक र नीलगिरि खोला–दुईले कामलाई अन्तिम चरणमा पुर्याएका छन् । ६ मेगावाटको रेलेखोला, ९ मेगावाटको सुपर घलेम्दी, ५२ मेगावाटको मध्यकालिगण्डकी, २०० मेगावाटको कालिगण्डकी गर्ज निर्माणाधीन अवस्थामा छन् ।रासस

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

वर्ष २०७९ अर्थतन्त्र : सरकार घाटामा, 'बिचौलिया र छद्मभेषी'को रजगज Read Next

वर्ष २०७९ अर्थतन्त्र : सरकार घाटामा, 'बिचौलिया र छद्मभेषी'को रजगज