काठमाडौं । गत वर्षदेखि उकालो लागेको मूल्यवृद्धि अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ७ प्रतिशतभित्र मुद्रास्फीती राख्ने लक्ष्य लिएको छ ।
तर, चालु आवको फागुन मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ । यस महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७९ प्रतिशतले बढेको छ ।
८ महिनामा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ फागुन महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.३१ प्रतिशत, ७.३६ प्रतिशत, ७.६९ प्रतिशत र ७.५६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
यस अवधिमा थोक मुद्रास्फीति वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.१३ प्रतिशत रहेको थियो ।