काठमाडौं । ‘गोरो अनुहार, चम्किलो हरियो रङको साडी अनी टलक्क टल्केका सुनका गर–गहना लगाएर विवाह मण्डपमा जान लागेकी सुन्दर बेहुली जस्तै छ हाम्रो देश नेपाल’ भनेर स्कूलमा निबन्ध लेख्दा एकबारको जुनी नेपाली भएर जन्मिन पाएकोमा छाती गर्वले फुलेर ढक्क हुन्थ्यो ।
लाग्थ्यो, नेपाल संसारकै सबैभन्दा ‘सुन्दर’ देश हो । यस्तो भावनामा थप मलजल पाठ्यक्रम र शिक्षकहरुले पनि गरेकै हुन् । गोरो अनुहार भनेको हिमाल, हरियो रङको साडी भनेको पहाडका वन–जङ्गल र सुनका गरगहना भनेको तराइमा झुल्ने गहुँ वा धानका बाला !
शिक्षकले आफ्नो भएभरको कल्पनाशीलता, सांकेतिक अभिव्यक्ति गर्ने क्षमता र अन्तस्करणमा लपेटिएको देशभक्तिको भावना हामीलाई लेखाइएको नोटमा पोखिदिएका थिए । हामी जब त्यो नोट घोकेर परीक्षामा लेख्थ्यौं, मन यसै चङगा हुन्थ्यो ।

यहाँसम्म कुरा ठीकै हो । सौन्दर्य चेतना संस्कृति सापेक्ष हुन्छ । हामीलाई हाम्रो हिमाल, पहाड, वन, खुला मैदान इत्यादी राम्रो लाग्नुमा कुनै समस्या छैन । हाम्रो सौन्दर्य दृष्टिले यी सबैलाई सुन्दर देख्यो त के भयो ?
हामीले नराम्रा अथवा प्रतिकूल मौसमका सहर वा देशहरुमा करोडौं पर्यटक गएर अर्बौं डलर खर्च गर्ने र हामीले असाध्यै राम्रो र सुन्दर भनेको हाम्रो देश २० लाख पर्यटकको लागि कल्पिने र दिनको ५० डलर समेत औसतमा खर्च गराउन नसक्नुमा मुख्य समस्या के हो ?
तर, समस्या के भइदियो भने हामीले लेखेको निबन्धमा के पनि लेख्यौं भने, हाम्रो देश अरबको मगज तताउने वा हड्डी पगाल्ने मरुभूमि जस्तो कुरुप छैन । सिङ्गापुर जस्तो निस्सार कङ्क्रिटको जङ्गल होइन हाम्रो देश । अनी लण्डन जस्तो मुटु छेड्ने चिसो छैन हाम्रो काठमाडौं, बाह्रै महिना ‘एसी’ चलाएजस्तो छ ।
यस्ता निबन्धहरु हामीभन्दा अघिका पुस्ताले पनि लेखे, पछिकाले पछि लेख्दैछन् । कहिलेसम्म लेख्ने हुन् थाहा छैन ।
‘निबन्धै लेख्दा के बिग्रियो त ? केही नभए विद्यार्थीको भाषिक विकास मात्र भए पनि त हुन्छ’ भन्ने कुरा आउनसक्छ ।
तर, यस्ता निबन्ध र तिनले निर्माण गर्ने चेतनाले हामी अहिले नेपालकाे पर्यटनलाई कसरी हेर्छौं, यसको विकासको लागि दूरगामी नीतिगत छलाङहरु कसरी लगाउँछौं, हामीले तारन्तार मनाउने भ्रमण वर्षहरुको अर्थ के हुन् भन्ने विषयहरुमा ठूलो प्रभाव पारेका छन् ।

नेपालमा पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरु, नीति निर्माताहरु देखि लिएर यो क्षेत्रमा चासो राख्ने सामान्यजनहरु समेत यस्तै निबन्ध र तिनले निर्माण गरेको निकै होचो र साँघुरो चेतना स्तरमा कैद छन् ।
विश्वविख्यात क्रेडिट कार्ड कम्पनी मास्टरकार्डले गरको एक अध्ययनले हामी नेपालीहरुले दशकौं देखि लेख्दै आएको निबन्ध र तिनले निर्माण गरेको नेपाल विश्वका अन्य देशभन्दा सुन्दर छ त्यसैले यहाँ पर्यटक आउनै पर्छ भन्ने सोचको ढाड खुस्क्याइदिएको छ ।
हामीले कङक्रिट सहर भनेर निबन्ध लेख्दै आएको सिङ्गापुरले सन् २०१८ मा झण्डै १ करोड ५० लाख पर्यटक भित्र्याएकोछ । सिङ्गापुर पर्यटकहरुले धेरै खर्च गर्ने सहरहरुको सूचीमा चौथो स्थानमा छ भने धेरै पर्यटकहरु भित्र्याउने सहरहरुको सूचीमा पाँचौं स्थानमा परेको छ, मास्टरकार्डले गरेको अध्ययन अनुसार ।

यसैगरी मगज तताउने भनिएको दुबईले १ करोड ५१ लाख पर्यटक भित्र्याएको छ, सन् २०१८ मा । करिब ६० वर्ष अघिसम्म ‘माछा मार्ने गाउँ’को रुपमा परिचित दुबईमा हाल ३० लाख मानिसहरु बसोबास गर्छन् । किनमेलको अखडा भनेर चिनिने यो सहरमा पर्यटकहरुले कूल ३० अर्ब ८२ करोड अमेरिकी डलर खर्च गरेका छन् । धेरै पर्यटकहरु भित्र्याउने सहरहरुको सूचीमा दुबई चौथो स्थानमा छ ।
‘मुटु छेड्ने’ चिसो बेलायतको लण्डन सहरले गत वर्ष १ करोड ९० लाख पर्यटक भित्र्याएको छ । पुराना म्युजियम, दरबारहरु इत्यादीका अलावा व्यवसाय र अध्ययनको पनि केन्द्र रहेको छ लण्डन सहर । यद्यपी लण्डनमा गत वर्ष अघिल्लो वर्ष भन्दा ४ प्रतिशतले पर्यटक घटेका छन् । धेरै पर्यटकहरु भित्राउने सहरहरुको सूचीमा अघिल्लो वर्ष दोस्रो स्थानमा रहेको लण्डन गत वर्ष एक स्थान तल झर्दै तेस्रो स्थानमा आइपुगेको छ ।
लण्डनकै छिमेकी सहर पेरिस सूचीको दोस्रो स्थानमा रहेको छ । पेरिसमा गत वर्ष करिब ८० लाख मानिसहरु त मोनालिसाको तस्वीर हेर्न मात्र आएको अध्ययनले जनाएको छ । परिसको ‘लोभरे’ पनि धेरै मानिसहरुले भ्रमण गर्ने म्युजियम हो ।

सन् १९९२ देखि चालू भएको पेरिस डिज्निल्याण्ड पनि प्रमुख पर्यटकिय गन्तव्य हो । यहाँ सन् १९९२ देखि २०१७ सम्ममा ३ करोड २० लाख पर्यटकले भ्रमण गरेका छन् । यसैले मात्र फ्रन्सको अर्थतन्त्रमा ७५ अर्ब डलरको योगदान पुर्याएको छ भने. फ्रान्सको पर्यटनको कूल आम्दानीको ६.२ प्रतिशत हिस्सा ओगटेको छ ।
सन् २०१८ मा सबैभन्दा धेरै पर्यटक भित्राउने सहरहरुको सूचीको पहिलो स्थानमा थाइल्याण्डको बैंकक परेको छ । बैंककमा गत वर्ष २ करोड २० लाख पर्यटक पुगेका छन् ।

‘वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल’को तथ्याङ्कका अनुसार थाइल्याण्डसँग दक्षिण पूर्वी एसियाको सबैभन्दा ठूलो पर्यटन अर्थतन्त्र रहेको छ । गत वर्ष पर्यटकहरुले बैंककमा ७० अर्ब डलर भन्दा बढि खर्च गरेका छन् । यो भनेको थाइल्याण्डको कूल निर्यात आम्दानीको २०.८ प्रतिशत हो ।
हाल विश्वमा प्रतिवर्ष पर्यटकहरुको संख्या १ अर्ब ४० करोड पुगिसकेको छ भने विकासशील अर्थतन्त्रले यसको ठूलो हिस्सा ओगटेका छन् ।

तर, विकासशिल देश नेपाल आगामी वर्ष भम्रण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य राखेर अघि बढेको छ । प्रति पर्यटक दैनिक खर्च झन् दिक्क लाग्दो छ । कतिपय पर्यटकहरु त चूल्हो बोकेरै नेपाल आउँछन् भनेर सञ्चार माध्यमहरुले लेखेकै छन् । ‘नारायणहिटीमा डिनर खान पाइने’ भन्ने जस्ता स–साना पर्यटकीय उत्पादनहरु समेत प्रमुख सञ्चार माध्यमरुको समाचार बन्ने अवस्था छ ।
हामीले नराम्रा अथवा प्रतिकूल मौसमका सहर वा देशहरुमा करोडौं पर्यटक गएर अर्बौं डलर खर्च गर्ने र हामीले असाध्यै राम्रो र सुन्दर भनेको हाम्रो देश २० लाख पर्यटकको लागि कल्पिने र दिनको ५० डलर समेत औसतमा खर्च गराउन नसक्नुमा मुख्य समस्या के हो ?
सुन्दरता भनेको सौन्दर्य दृष्टिमा निर्भर हुने कुरा हो भनेर बुझ्नु, गुणस्तरीय पर्यटकीय उत्पादनहरुको निर्माण गर्नु, ‘साइट सिइन’का अलावा पर्यटनका अन्य विविध क्षेत्रहरु पनि छन् भनेर बुझ्नु र समग्र पर्यटनलाई फराकिलो र गहिरो अवधारणाका रुपमा बुझ्नु र नेपालमा चलिआएको पर्यटनको अवधारणाको पुर्नव्याख्या वा पुर्नपरिभाषा गर्नुको विकल्प छैन ।