कृषिको ‘पकेट क्षेत्र’मा ६७ करोड लगानी

काठमाडौं । प्रदेश नम्बर ३ को सरकारले कृषिको पकेट क्षेत्रका लागि चालू आर्थिक वर्षमा करिब ६७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेश ३ को १३ जिल्लामा घोषित नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेटक्षेत्र र ५६ वटा ब्लकलाई ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको हो ।

 

घोषित पकेट क्षेत्रमा अन्नबाली, फलफूल तथा तरकारीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न अनुदानका साथै अनुगमन तथा निरीक्षणको लागि तोकिएको बजेट खर्च गरिने छ । त्यस्तै, पुराना पकेट क्षेत्रहरुका लागि ११ करोड ८७ लाख छुट्याएकोे छ भने नयाँ पकेट क्षेत्रहरुका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जानकारी गराएको हो ।

 

नयाँ ब्लकहरुका लागि चालू अनुदानतर्फ १५ करोड र पुराना ब्लकहरुका लागि ८ करोड ५५ लाख रुपैयाँ चालू अनुदान छुट्याइएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवम् योजना तथा अनुगमन महाशाखा प्रमुख डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

 

गत आर्थिक वर्षमा मन्त्रालयले पकेट तथा ब्लकका लागि २८ करोड रुपैयाँ मात्र खर्च गरेकोमा चालू वर्षबाट पकेट तथा ब्लक क्षेत्रको अनुदानमा वृद्धि गरेको उनले थप खुलाए । चालू आवका लागि विभिन्न जिल्लाबाट विशेष गरी तरकारी र फलफूलको पकेट तथा ब्लक स्थापनाका लागि माग आएको पनि उनले बताए ।

 

विभिन्न कृषि उपजको पकेट क्षेत्र माग गरिए पनि मकवानपुरमा तरकारी, आलु मकैको पकेटक्षेत्र स्थापना गरिनेछ भने चितवनमा तरकारी, मौरी, केरा र धानको पकेटक्षेत्र स्थापना गरिनेछ । त्यस्तै, धादिङमा तरकारी, आलु र मकैको पकेटक्षेत्र रहनेछन् भने नुवाकोटमा पनि सोही बालीको पकेटक्षेत्र घोषणा गरिने मन्त्रालयले जानकारी गराएको छ ।

 

रसुवा, ललितपुर, भक्तपुर, काठमाडौंमा तरकारी र आलुको पकेट तथा ब्लक क्षेत्र घोषणा गरिने पाण्डेले बताएका छन् । काभ्रेमा तरकारी आलुका साथै अलैंची र कफीको पनि पकेटक्षेत्र निर्धारण हुनेछन् । त्यसैगरी सिन्धुपाल्चोकमा तरकारी आलुका साथै मकै र किवीको पकेट तथा ब्लक स्थापना गरिनेछ ।

 

पाण्डेका अनुसार दोलखामा किवी, तरकारी, आलु र सुन्तलाको पकेटक्षेत्र बनाइनेछ भने आलु र तरकारीको साथै जुनारको पकेट र ब्लक घोषणा गरिनेछ । सिन्धुलीमा अदुवा तथा बेसार, जुनार, मकैको पकेटक्षेत्र घोषणा गरी कार्यान्वयन गरिने मन्त्रालयले जानकारी गराएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, छानबिन समिति गठन Read Previous

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, छानबिन समिति गठन

चिलिमे जलविद्युतद्धारा लाभांश घोषणा, बोनस र नगद कति Read Next

चिलिमे जलविद्युतद्धारा लाभांश घोषणा, बोनस र नगद कति