काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको कार्तिक १८ गते सम्पन्न ३६४ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमध्ये २० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
चुक्ता पूँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२ रुपैयाँ रहेको चिलिमेले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस तथा २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँ पुग्नेछ।
कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।
कम्पनीले लाभांश पारित गर्न आगामी मंसिर ८ गते २३ औं साधारण सभा गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गतेलाई बुकक्लोज मिति तोकेको छ । यसअनुसार कार्तिक २६ गते मंगलबारसम्म कायम रहने सेयरधनी मात्र लाभांश पाउने छन्।
