काठमाडौं । कच्चा तेलको मूल्यमा लगातार गिरावट आएपछि साउदी अरबसहित तेल निर्यात गर्ने देशहरूको संगठन (ओपेक)ले उत्पादन कटौती गर्ने निर्णय गरेका छन् ।
ओपेकले कच्चा तेलको मूल्यमा आएको गिरावट रोक्ने उद्देश्ले दैनिक साढे ११ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन घटाउने निर्णय गरेको हो ।
ओपेक देशका मन्त्रीहरूको भर्चुअल बैठकमा प्रतिदिन ११.५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति बनेको बीबीसीले जनाएको छ । भर्चुअल बैठकमा साउदी अरब र रुसका मन्त्रीहरू पनि सहभागी थिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थिरता ल्याउन उत्पादन कटौती गर्ने निर्णय गरिएको उनीहरूको भनाइ छ ।
साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरबले मे २०२३ देखि यस वर्षको अन्तिमसम्ममा कच्चा तेलको उत्पादनमा प्रतिदिन ५ लाख ब्यारेलसम्म कटौती गर्ने बताइएको छ ।
तत्कालै साउदी अरबले दैनिक १ लाख ४४ हजार ब्यारेल, ओमानले ४० हजार ब्यारेल र रुसले प्रतिदिन ५ लाख ब्यारेल तेल उत्पादन कटौती गर्नेछन् ।
पछिल्लो समय विश्व अर्थतन्त्र आएको मन्दीका कारण कच्चा तेलको मूल्य लगातार घटिरहेको छ । त्यस्तै, गत महिना अमेरिकाको सिलिकन भ्याली र सिग्नेचर बैंक तथा स्वीट्जरल्याण्डको क्रेडिट सुइस बैंकको वित्तीय संकटका कारण वित्त बजारमा उथलपुथल आएसँगै कच्चा तेलको माग झनै घटेको छ । जसले गर्दा कच्चा तेलको भाउ प्रतिब्यारेल ७१ डलरसम्म झरेको थियो ।
तेलको उत्पादन घटेपछि मूल्य केही बढ्ने ओपेको विश्वास छ । उत्पादन घटेपछि माग बढ्ने र माग बढेपछि मूल्य बढ्ने गर्दछ ।
नेपाल पेट्रोलियम पद्धार्थमा पूर्णतः परनिर्भर छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने बित्तिकै नेपाललाई प्रत्यक्ष असर पार्नेछ । विश्व बजारमा कच्चा तेलको भाउ बढेपछि नेपालले पनि महँगोमा किन्नुपर्नेछ । जसले नेपाली बजारमा समेत इन्धनको मूल्य बढाउने छ ।