स्वयम् बैंकहरू र राष्ट्र बैंकको कदमले बढ्दै छ खराब कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा एक वर्षमा दोब्बर बढीले बढेको छ । नेपाल राष्ट्र्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिना (साउन–माघ)सम्म वाणिज्य बैंकहरूको मात्र औषतमा खराब कर्जा २.४९ प्रतिशत पुगेको छ ।

जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.१८ प्रतिशत पुगेको थियो । अर्थतन्त्रमा आएको संकुचन कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा बैंकको खराब कर्जा बढ्दै गएको हो भने आगामी दिनमा झनै बढ्ने प्रक्षेपण भइरहेको छ ।

चैत मसान्त बैंकहरूको खराब कर्जा ३ प्रतिशत नाघ्ने र असार मसान्तसम्म राष्ट्र बैंकले तोकेको सीमा अर्थात् करिब ५ प्रतिशत नजिक पुग्ने आकलन छ ।

अहिले ह्वात्तै खराब कर्जा बढ्नु र बढ्ने अवस्थामा पुग्नुमा कारक भने स्वयम बैंकहरू र नियामक नेपाल राष्ट्र बैंक नै हुन् । गत वर्ष दोस्र्रो त्रैमाससम्म बैंकहरूले अन्धाधुन्ध कर्जा लगानी गरेका थिए । त्यस्तै कर्जाको ब्याजदर पनि ह्वात्तै बढाए । अर्थतन्त्रमा आएको संकुचन र महँगो ब्याजका कारण अहिले ऋण उठ्न छाडेको छ । त्यस्तै, राष्ट्र बैंकले बैंकहरूले अन्धाधुन्ध कर्जा लगानी गर्दा टुलुटुलु हेरेर बसेको र अहिले संकटको बेलामा झन् कडाइ गरेकाले खराब कर्जा झनै बढेको हो ।

पछिल्लो समय स्रोत अभावमा बैंकहरूले कर्जा लगानी गर्न नसक्दा एकातिर व्यवसायमासंकुचन आएको छ भने अर्कोतर्फ लगानी गरेको रकम समेत खराब कर्जामा परिणत हुने जोखिम बढेको छ । वित्तीय प्रणालीमा बढेको तरलताले ब्याजदर लगातार महँगिदा ऋणीले बैंकबाट लिएको कर्जा भुक्तानी गर्न सकिरहेका छैनन् ।

जसको असर बैंकहरूको रिकभरीमा देखिएको छ । वाणिज्य बैंकहरूकै खराब कर्जाको ग्राफ उकालो लागिरहेको अवस्थामा लघुवित्त वित्तीय संस्थाको कर्जाको स्थिति निकै बिग्रिएको छ । लघुवित्तको खराब कर्जा एक वर्षमा दोब्बरले बढेर ५ प्रतिशतसम्म पुगेको छ ।

राष्ट्र बैंकको नीति, ब्याजदर वृद्धि, माग संकूचन, प्रणालीमा देखिएको अर्थतन्त्रको समस्या लगायतका कारणले खराब कर्जाको हिस्सा बढ्दै गएको हो । वित्तीय प्रणाली विरुद्ध भइरहेका गतिविधि र मानिसको आम्दानीमा आएको गिरावटका कारण बैंकहरूको लगानी खराब कर्जामा परिणत हुनेक्रम बढेको बैंकिङ क्षेत्रका जानकार बताउँछन् ।

बैंकहरूले लगानी गरेको रकम खराब कर्जामा परिणत हुने अवस्था देखिएपछि प्रोभिजनिङ रकम सोही अनुसार बढाउनु पर्ने नियामकीय व्यवस्था छ ।जसको कारण बैंकहरूको ५ प्रतिशतभन्दा कम खराब कर्जा छ भने त्यसलाई सामान्य मानिन्छ ।

पूर्व बैंकर परशुराम क्षेत्री कुँवर नेपालका बैंकहरूको खराब कर्जा जोखिमपूर्ण अवस्थामा नरहेको बताउँछन् । ‘नेपालका बैंकहरूको खराब कर्जाको अवस्था हेर्दा धेरै जोखिमपूर्ण अवस्थामा रहेको देखिदैन,’ उनले भने, ‘अन्य देशको तुलनामा पनि त्यस हिसाबले हेर्ने हो भने सुरक्षित नै छन् ।’

मौद्रिक अंकुशको असर

कोभिड पछिको अर्थतन्त्र पुनरुत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाहरूले गरेको मनलाग्दी कर्जा लगानीलाई अनुमोदन गरेको राष्ट्र बैंकले दोस्रो त्रैमासपछि मौद्रिक उपकरण मार्फत अंकुश लगाउने नीति लियो ।

अनियन्त्रित कर्जा लगानी गर्दा प्रणालीमा स्रोत अभावत खड्कियो नै लगानी गरेको रकम समेत सहज रुपमा उठ्न नसकिएको बैंकरहरू बताउँछन् । सुरूमा कर्जा लगानी खुला छोडेको राष्ट्र बैंकले बाह्य क्षेत्रमा दबाब देखिन थालेपछि कसिलो मौद्रिक नीति लिएको थियो ।

१९ प्रतिशतले कर्जा विस्तारको लक्ष्य लिएकोमा राष्ट्र बैंककै खुकुलो नीतिले गत वर्ष बैंकहरूले ६ महिनामै लक्ष्यको ६० प्रतिशत बढी लगानी गरे । जबकि यस वर्ष १२.६ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिइएको छ ।

बैंकहरूले ९ महिनासम्म एकतिहाइ समेत लगानी गर्न सकेका छैनन् । पूर्व बैंकर भुवन दाहाल अहिले बैंकहरूको कर्जा लगानीमा पछिल्लो दुई दशक यताकै सुस्तता आएको बताउँछन् ।

‘जब बर्जा प्रवाह बढ्न थाल्छ त्यसपछि अर्थतन्त्र चलायमान हुन्छ । व्यापार व्यवसाय पनि बढ्छ ,’ उनले भने, ‘गत वर्षको पुसदेखि अहिलेको पुससम्म हेर्ने हो भने जम्मा तीन प्रतिशतले मात्र कर्जा बढेको छ । यो भनेको सन् २००१ र २००२ पछिको सबैभनदा कम हो । त्यो बेलामा नकारात्मक वृद्धि भएको थियो ।’

अहिलेको समस्या भनेको पहिलो फन्डको अभाव र दोस्रो ब्याजदर भएको उनले बताए । यद्यपि, अहिले प्र्रणालीमा लगानी गर्ने रकम बढेको हुँदा ब्याजदर घट्ने स्पेस रहेको उनको विश्लेषण छ ।

राष्ट्र बैंकले पुनकर्जा र सहुलियतपूर्ण कर्जा गरेर प्रणालीमा एकै पटक व्यापक तरलता छोड्यो । जसको असर बाहय क्षेत्रमा देखियो । सो दबाब कम गर्न एक वर्षभन्दा बढी समय लागेको थियो । एक वाणिज्य बैंकका सीईओ राष्ट्र बैंकको अपरिपक्व नीतिका कारण बैंकहरूको खराब कर्जा बढेको बताउँछन् ।

‘बैंकहरूको खराब कर्जा व्यापक बढ्नुमा राष्ट्र बैंक नै मुख्य जिम्मेवार हो,’ उनी भन्छन्, ‘अर्थतन्त्र पुनरुत्थानमा कर्जा लगानी व्यापक बनाएको नियामकले एकै पटक कस्दा बैंकहरू समस्यामा परे । त्यसले लगानी र रिकभरीमा समस्या ल्याएको प्रष्ट बुझ्न सकिन्छ ।’

कोभिड अवधिमा ६ प्रतिशत पुगेको ब्याजदर महँगी नियन्त्रण गर्न भन्दै राष्ट्र बैंकले बढाउने नीति लिएको थियो । जसको कारण हाल आधारदर नै दोहोरो अंकमा पुगेको छ । त्यसले कर्जाको ब्याज महंगो बनाउँदा अन्तत ऋणीको आम्दानी र ऋण तीर्ने सक्ने क्षमतामा ह्रास ल्याएको छ ।

 

मेलम्चीको पानी बाँड्न सुन्दरीजल-जोरपाटी खण्डमा थप पाइप बिछ्याइँदै Read Previous

मेलम्चीको पानी बाँड्न सुन्दरीजल-जोरपाटी खण्डमा थप पाइप बिछ्याइँदै

कामना सेवा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

कामना सेवा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?