काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा हराएका ३६० मोेटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका ३६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
आजमात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । कार्यालयले आज १६ मोटरसाइकल र छ स्कुटर हस्तान्तरण गरेको हो ।
चालु आवमा ट्राफिक कार्यालयमा सवारीसाधन हराएको भनेर १ हजार २८९ निवेदन परेकामा ३८७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । सो मध्ये दुईपाङ्ग्रे ३६० र अन्य २७ सवारीसाधन छन् ।
ट्राफिक प्रहरीले चालु आवमा मोटरसाइकल चोरी कार्यमा संलग्न २६ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि विभिन्न वृत्तमा बुझाइसकेको प्रवक्ता भट्टले बताए।
लाखौँ रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ ।