काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । गत पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
एमालेसँगको तत्कालीन सत्ता गठबन्धन टुटेपछि प्रचण्डले नेपाली कांग्रेससहित नयाँ दललाई समेटर पुनः मन्त्रिपरिषद् गठन गरेका हुन् ।नव नियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नयाँ मन्त्रिमण्डलमा कांग्रेसका ४, नेकपा एकीकृत समाजवादीका २ जना, माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १/१ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।
त्यस्तै, नेकपा माओवादीबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । यसअघि माओवादीबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठ मन्त्रालय फेरिएर गृहमन्त्री बनेका छन् ।
माओवादीबाट यसअघि मन्त्री बनेका सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।
त्यसैगरी, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधि, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।
त्यस्तै, नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् । सत्ता साझेदार दल बीचको सहमती अनुसार अझै कांग्रेसको भागमा परेका ४ मन्त्रीको नाम टुंगिएको छै भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।
