बैंकमा पैसा राखेर ब्याज खाने बढे, निक्षेपमा मुद्दतीकाे हिस्सा दोब्बरले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा पैसा राख्ने क्रम बढेको छ । उद्योग, व्यापार व्यवसाय लगायत क्षेत्रमा लगानी गर्दा भन्दा बैंकमा पैसा राख्दा फाइदा र सुरक्षित हुने भएपछि मुद्दतीमा राख्ने क्रम बढ्दै गएको हो ।

पछिल्लो ७ वर्षमै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा मुद्दतीको हिस्सा दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा कुल निक्षेपमा मुद्दतीको हिस्सा जम्मा ३०.५ प्रतिशत रहेकोमा चालु आवको माघसम्म आइपुग्दा दोब्बरले बढेर ६०.६१ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार माघसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । जसमा मुद्दती निक्षेप मात्रै ३२ खर्ब ६४ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष २०७१/७२ मा मुद्दती निक्षेमा ५ खर्ब ३५ अर्ब रुपैयाँ थियो ।

आव २०७१/७२ यता कुल निक्षेमा मुद्दतीको हिस्सा लगातर बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आव २०७२/७३ मा कुल निक्षेपमा मुद्दतीको हिस्सा ३०.५ प्रतिशत, आव २०७३/७४ मा ४३.२ प्रतिशत, आव २०७४/७५ मा ४४.८ प्रतिशत, आव २०७५/७६ मा ४६.३ प्रतिशत, आव २०७६/७७ मा ४८.६ प्रतिशत, आव २०७७/७८ मा ४७ प्रतिशत र आव २०७८/७९ आइपुग्दा ५५.८ प्रतिशत पुगेको छ ।पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू बीच निक्षेपको ब्याज बढाउने होडबाजी चल्दा मुद्दतीमा निक्षेपमा मुद्दतीको हिस्सा बढ्दै गएको हो । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक स्कीमसहित मुद्दती निक्षेप योजना ल्याउने गरेका छन् । जसले गर्दा कुल निक्षेपमा मुद्दतीको हिस्सा बढ्र्द गएको हो ।

त्यस्तै, कोरोना काल यता विश्व अर्थतन्त्रमा आएको मन्दीको प्रभाव नेपालमा पनि परेको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण उत्पादन, उद्योग, व्यापार व्यवसायमा लगानी गर्न भन्दा बैंकमा मुद्दतीमा पैसा राखेर ब्याज खाँदा फाइदा हुने भएपछि मुद्दतीमा पैसा राख्ने क्रम बढेको हो ।

मुद्दती निक्षेपको हिस्सा बढ्दै जाँदा वित्तीय क्षेत्रमा तरलता व्यवस्थापनमा स्थायित्व ल्याउन टेवा पुर्याए पनि कर्जाको ब्याजदर भने महंगो बनाएको छ ।

पूर्व बैंकर परशुराम क्षेत्री कुँवर बैंक तथा वित्तीय संस्थाहरूले महंगोमा निक्षेप उठाउँदा स्वभाविक रूपमा कर्जाको ब्याजदर बढाउनमा टेवा पुर्याउने बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाले महंगोमा डिपोजिट उठाएका छन् । त्यसले स्वभाविक रूपमा बैंकको लागत बढाउँछ,’ उनले भने, ‘तर बैंकहरूलाई लामो अवधिका लागि निक्षेप भने चाहिन्छ । तरलता सन्तुलन गर्न पनि त्यो आवश्यक पर्छ ।’

निश्चित अवधिका लागि पैसा निकाल्न नमिल्ने गरी ब्याज आम्दानीका लागि मुद्दती खातामा रकम राख्ने गरिन्छ । बैंकहरूले यस्तो खातामा आकर्षक ब्याज दिने भएपछि मुद्दती निक्षेपको हिस्सा बढ्दो क्रममा छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूले विगतमा मुद्दती निक्षेपमै १५ प्रतिशतसम्म ब्याज दिएका थिए । हाल व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागत मुद्दतीको ९ प्रतिशत ब्याजदर रहेको छ । त्यस्तै, रेमिट्यान्स मुद्दतीको १२ प्रतिशत रहेको छ ।

लागत वृद्धिले कर्जाको ब्याजदर महंगियो

गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि वित्तीय प्रणालीमा स्रोत अभाव बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेप बढाउन ब्याजदर वृद्धिको नीति लिएका थिए । संस्थाहरू बीच चलेको डिपोर्जिट तान्ने होडले निक्षेपकै ब्याजदर १५ प्रतिशतसम्म पुग्यो ।

बैंकको लागत बढ्दा कर्जाको ब्याज पनि सोही अनुसार आकाशिएको छ । अहिले आधारदर नै १० प्रतिशतमाथि पुगेको प्रतिशत माथि पुगेको छ ।

निरन्तर बढ्दोक्रममा रहेको ब्याजदर एक वर्षपछि कात्तिक यता ओरालो लागे पनि अझै कर्जाको ब्याजमा त्यसको असर देखिएको छैन । सोही कारण बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको माग बढ्न सकेको छैन ।

बैंकले आकर्षक ब्याज दिँदा संस्थाको डिपोजिटमा सुधार देखिए पनि लगानी भने सुस्ताएको छ । अहिले बैंक तथा वित्तीय संस्थासँग करिब साढे २ खर्बको हाराहारीमा लगानीयोग्य रकम छ ।

तर, उच्च ब्याजदरले माग नहुँदा पूँजी प्रणालीमै थन्किएर बसेको छ । कर्जा लगानी गर्न नसक्दा चालु वर्ष राष्ट्र बैंकले निजी क्षेत्रतर्फ राखेको कर्जा विस्तारको लक्ष्य पनि पूरा नहुने भएको छ । चालु आवको फागुनसम्म बैंकहरूले लक्ष्यको जम्मा २० प्रतिशत अर्थात् १ खर्ब हाराहारीमा मात्र कर्जा लगानी गरेका छन् ।

कर्जाको ब्याजदर अहिले १८ प्रतिशत पुगेको छ । एक त्रैमासपछि बैंकको आधारदरमा आएको परिवर्तन अनुसार कर्जाको ब्याजमा फेरबदल आउँछ । तर अघिल्ला महिनाहरूमा निक्षेपको ब्याजदर लगातार वृद्धि गर्दा आगामी वैशाखपछि मात्र कर्जाको ब्याजदरमा गिरावट आउँछ । यद्यपि, उच्च ब्याजदरले कर्जा लगानी नबढ्ने भएपछि बैंकहरूले चैतमै एक प्रतिशतले प्रिमियम घटाएर ऋण दिने निर्णय गरेका थिए ।

आर्थिक वर्षको सुरूमा प्रणालीमा तरलता अभाव र त्यसपछि ब्याजदर वृद्धिले लगानी बढ्न सकेको छैन । महंगो ब्याजमा कर्जा लिएर लगानी गर्दा प्रतिफल प्राप्त गर्न नसक्ने देखिए पछि डिपोजिटतिर आकर्षण बढेको देखिन्छ ।

पुरानै कर्जाको ब्याज तिर्न सकस परिरहेको अवस्थामा १८ प्रतिशत ब्याजदरमा नयाँ कर्जा लिएर लगानी गर्न सम्भव नभएको व्यवसायी बताउँछन् । बैंक तथा वित्तीय संस्थामै निक्षेप राखेर उच्च ब्याज आम्दानी प्राप्त गर्न सकिने भएपछि लगानीको जोखिम लिन कोही नचाहने उनीहरूको भनाइ छ ।

 

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने ६ पालिकाको निर्णय, एउटैलाई ४९ करोड तिर्नुपर्ने Read Next

त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने ६ पालिकाको निर्णय, एउटैलाई ४९ करोड तिर्नुपर्ने