चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व-पश्चिम रेलमार्गको डीपीआर बनाइँदै

सांकेतिक तस्वीर

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ-चितवन खण्डको रुट परिवर्तन हुने भएको छ । यसअघि गरिएको रेखांकन अनुसार रेलमार्ग चितवन राष्ट्रिय निकुञ्ज भित्र परेको थियो ।

निकुञ्ज भित्रबाट रेलमार्ग लैजाँदा वन्यजन्तुलाई असर पर्ने भन्दै वातावरण सम्बन्धी संघसंस्थाहरूले विरोध गरेपछि अहिले निकुञ्ज बाहिरबाटै लैजाने गरी डीपीआर गर्न लागिएको हो ।

निकुञ्ज भित्रबाट रेलमार्ग लैजाँदा फ्लाइओभर बनाउने कि अन्डरग्राउन्डबाट लैजाने गरी डीपीआर बनाउने भनेर ठूलो विवाद समेत भएको थियो । लामो छलफल र अध्ययनपछि अहिले निकुञ्जलाई नछोइ बाहिरबाटै लैजाने गरी रेलमार्गको डीपीआर बनाउने भइएको हो ।

रेल विभागका सूचना अधिकारी अमन चित्रकारले चितवन राष्ट्रिय निकुञ्जलाई छल्दै निजढबाट हेटौँडा हुँदै भरतपुरसम्म रेलमार्ग निर्माण गर्ने गरी डीपीआर भइरहेको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय निकुञ्जलाई नछोई रुट परिवर्तन गरी रेलमार्ग निर्माण गर्ने गरी डीपीआरको काम भइरहेको छ । डीपीआरपछि मात्र यस रुटको लम्बाइ कति किलोमिटर हुने भन्ने बारे थाहा हुनेछ ।

‘राष्ट्रिय निकुञ्जलाई नछोइ घुमाएर हेटौँडा हुँदै रेल लग्ने गरी डीपीआर तयार पारिँदैछ , त्यो कति किलोमिटर लामो हुन्छ भन्ने कुरा डीपीआरपछि थाहा हुन्छ,’ सूचना अधिकारी चित्रकारले चाणक्य पोष्टसँग भने ।

राष्ट्रिय निकुञ्जबाट रेल जाने हुँदा वनसँगै जनावरहरूलाई समेत हानी पुग्ने भएकाले त्यसको समाधानतर्फ रेल विभाग लाग्दै आएको थियो । निजगढदेखि भरतपुरसम्म १३६ किलोमिटरमा रेलमार्ग निर्माणको लागि दोस्रो पटक डीपीआर तयार पार्ने काम भएको समेत भयो ।

९ वर्षभित्र निर्माण पूरा गर्ने गरी २०१३ मा पूर्वपश्चिम विद्युतीय रेलमार्गको डीपीआर तयार गरिएको थियो । ९ वर्ष पुग्दा समेत यस रेलमार्गको एक खण्ड बाहेक अन्य खण्डको निर्माण काम सुरू हुन सकेको छैन ।

९५ अर्ब ५ करोड रुपैयाँ लगानीमा निर्माण पूरा गर्ने योजना सहित रेलमार्ग अन्तर्गत बर्दीबास–निजगढ खण्डमा ६९ किलोमिटरमा हाल रेलको ट्रयाक बेड ओछ्याउने काम भइरहेको छ । यस खण्डमा निर्माणले केही गति लिए पनि अन्य खण्डमा अझै काम सुरू हुन सकेको छैन ।

बर्दीबास–निजगढ खण्डमा १५ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटा निर्माण पूरा भएको छ । वार्षिक ८ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको यस रेलमार्गमा गत आवमा ३ वटा पुल निर्माण सम्पन्न भएको थियो । अन्य पुलहरूमा निर्माणको काम भइरहेको चित्रकारले बताए ।

हालसम्म के-के काम भयो ?

९४५ किलोमिटर लामो पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम आव २०७४/७५ देखि सुरू भएको थियो । सो आवमा ३७२ किलोमिटर बर्दीबास–लुम्बिनी खण्ड (इँटहरी–विराटनगर, काँकडभिटा–बर्दीबास खण्डको २६५ किलोमिटर, २८ किलोमिटर सिमरा–वीरगन्ज लिंक र ४४ किलोमिटर बुटवल भैरहवा–लुम्बिनी लिंक समेत गरी) रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार भएको थियो ।

त्यस्तै, हेटौंडा–निजगढ–भरतपुर हुँदै नवलपरासी खण्ड १३५ किलोमिटरको सम्भाव्यता अध्ययन सम्पन्न भएको थियो । सो वर्ष १०८ किलोमिटर लामो सिमरा–बर्दीवास खण्ड मध्ये बर्दीबास लालबन्दी ३० किलोमिटर खण्डको २५ किलोमिटरमा रेल्वे ट्रयाकवेड कल्भर्ट तथा पुलहरूको निर्माण सम्पन्न भएको छ ।

यस आयोजना अन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा ९४५ किलोमिटर को विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको थियो । यस अन्तर्गत बर्दीवास–निजगढको ७० किलोमिटर रेलमार्गको बर्दीबास–लालबन्दी खण्डको २० किलोमिटर क्षेत्रको ट्रयाक बेड मध्ये २५.६ किलोमिटर निर्माण भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा पूर्वपश्चिम रेलमार्ग अन्तर्ग बर्दीबास–लालबन्दी खण्डको ३.५ किलोमिटर ट्रयाक बेड निर्माण सम्पन्न भएको थियो । यस रेलमार्ग अन्तर्गत बर्दीबास निजगढ खण्डमा २०७७ असारमसान्तसम्म ३३.५ किलोमिटरमा ट्रयाक बेड निर्माण भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ९ किलोमिटरमा थप ट्रयाक बेड निर्माण भएको थियो । यसरी २०७७/७८ सम्ममा ४२.५ किलोमिटर सडकमा ट्रयाक बेड निर्माण भएको थियो ।

सो वर्ष चितवन निकुञ्ज क्षेमा पर्ने निजगढ–हेटौंडा–भरतपुर–अमरापुरी खण्ड १३६ किलोमिटरको वैकल्पिक रुटको विस्तृत सम्भाव्यता अध्ययन भइरहेको थियो ।

आव २०७८/७९ मा पूर्वपश्चिम रेलमार्ग अन्तर्गत बर्दीबास निजगढ खण्डमा १.५ किलोमिटर मात्र ट्रयाक बेड निर्माण भएको थियो । यसअघिसम्म ४९ किलोमिटर ट्रयाक बेड निर्माण भएको थियो । यसरी आर्थिक वर्ष २०७८/७९ मा ४०.५ किलोमिटर ट्रयाक बेड निर्माण भएको थियो ।

नेपालमा पहिलो पटक सन १९२७ मा भारतको रक्सौलबाट नेपालको अमलेखगन्जसम्म रेल सञ्चालन भएको थियो। रेल विभागका अनुसार ४८ किलोमिटर दूरीको सो रेल सेवा निरन्तर ३३ वर्ष चलेर बन्द भएको थियो ।

त्यस्तै सन १९३७ मा भारतको जयनगरबाट नेपालको जनकपुरसम्म चलेको रेल केही वर्ष बन्द भएपछि अहिले पुनः सञ्चालनमा आएको छ ।

 

सिटिजन्स बैंकले सातै प्रदेशमा वित्तीय कार्यक्रम गरी मनायो 'ग्लोब मनी वीक' Read Previous

सिटिजन्स बैंकले सातै प्रदेशमा वित्तीय कार्यक्रम गरी मनायो 'ग्लोब मनी वीक'

एनआइसी एशिया लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ? Read Next

एनआइसी एशिया लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?