काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई लघवित्तको लाभांश पाउन सेयर किन्ने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ । जीवन विकास लघुवित्त र एनएमबी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरणसभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १७ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
जीवन विकासले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद गरी कुल १४.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सो लाभांश पारित गर्न लघुवित्तले चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभासभा लघुवित्तको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
त्यसैगरी, एनएमबी लघुवित्तले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सो लाभांश पारित गर्न एनएमबीले वैशाख १५ गते वार्षिक साधरण सभा बोलाएको छ । सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
दुवै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।