सिमेन्टको मूल्य घट्यो, बिक्री दोब्बरले वृद्धि

गाईघाट । नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ ।

 

देशमा उत्पादित अन्य सिमेन्टहरुको मूल्य घट्दै गइरहेको बेला अन्य सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँका दरले घटाइएको उद्योग प्रशासनले बताएको छ ।

 

यसअघि गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा ८०३ रुपैयाँ रहँदै आएकामा तीन दिनअघि गैँडाछाप सिमेन्टको मूल्य २५ रुपैयाँ घटाएर प्रतिबोरा ७७८ रुपैयाँ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए । गैँडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले बिक्री दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ ।

 

दैनिक चार–पाँच हजार बोरासम्म मात्र बिक्री भइरहेको गैँडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले दैनिक १० हजार बोरादेखि १२ हज्जार बोरा बिक्री हुन थालेको समेत उद्योगका निमिक्त महाप्रबन्धक साहले बताताएका छन् ।

 

उनले भने, “गैँडाछाप सिमेन्ट जापानी प्रविधिबाट उत्पादन हुने एशियाकै उत्कृष्ट गुणस्तरीय सिमेन्ट हो, यो सिमेन्टसँग प्रतिस्पर्धा गर्ने अन्य उत्पादित सिमेन्ट नै अहिलेसम्म उत्पादन भएको छैन तर पनि अन्य उत्पादित सिमेन्टहरुको मूल्यमा हेरफेर हुँदा गैँडाछाप सिमेन्टको पनि मूल्य निर्धारण गरिने र मिलाउनुपर्ने हुनाले अहिले बजार मूल्य घटाइएको हो ।”

 

अढाई वर्षअघि सम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योग विद्युत्भार कटौती हटेर सुधार आएपछि दुई वर्षदेखि नाफामा जान थालेको छ । अहिले उद्योगमा झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट ‘स्टक’ रहेको छ भने एक लाख ३० हजार बोरा सिमेन्ट उत्पादनका लागि क्लिङ्कर ‘डिपोजिट’ रहेको छ ।

 

यस्तै उद्योगले पूर्ण क्षमतामा दैनिक १६ हजारदेखि १८ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आएको उद्योग प्रशासनले बताएको छ ।रासस

बङ्गलादेशले २० जलविद्युत् आयोजनामा लगानी गर्ने, ९ हजार मेगावाट विजुली लैजाने Read Previous

बङ्गलादेशले २० जलविद्युत् आयोजनामा लगानी गर्ने, ९ हजार मेगावाट विजुली लैजाने

किस्तामा घर किन्नुभयो ? यी ६ तरिका अपनाए सहजै तिर्न सकिन्छ Read Next

किस्तामा घर किन्नुभयो ? यी ६ तरिका अपनाए सहजै तिर्न सकिन्छ