अर्थतन्त्र : बाहिर टाल्न खोज्दा भित्र चौपट

काठमाडौं । बाह्य क्षेत्रको चाप कम गर्न लिएको नीतिको असर आन्तरिक अर्थतन्त्रमा देखिएको छ । सरकारले भुक्तानी सन्तुलन र विनिमय संचितिमा परेको दबाव सुधार गर्न खोज्दा आन्तरिक अर्थतन्त्र भने समस्या ग्रस्त बनेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि ओरालो लागेको अर्थतन्त्रका बाह्य सूचकमा एक वर्षपछि सुधार हुँदै गएको छ । तर, त्यसको असरबाट आन्तरिक अर्थतन्त्र भने संकटतर्फ धकेलिएको छ ।

सरकार र नेपाल राष्ट्र बैंकको नीतिगत कडाइले अर्थतन्त्रका बाह्य सूचकहरू विदेशी विनिमय संचिति, चालु खाता, शोधान्तर स्थिति, व्यापार घाटा लगायतमा सुधार आउँदा आन्तरिक अर्थतन्त्र भने चौपट हुँदै गएको छ ।

तर, अर्थतन्त्रमा आएको संकुचनका सरकारको आम्दानीमा ठूलो गिरावट आउँदा दैनिक खर्च संचालन गर्नै मुस्किल हुने अवस्था सृजना भएको छ । त्यस्तै, बजारमा उपभोग्य वस्तुको माग घट्नु, उद्योगहरूको उत्पादन क्षमतामा ठूलो ह्रास, बढ्दो बेरोजगारी, महँगी आकाशिनु, ऋणीको ऋण तिर्ने क्षमता घट्दा वित्तीय प्रणालीमै संकट निम्त्याउने लगायत असर देखिन थालेका छन् ।

विदेशी विनिमय संचिति र भुक्तानी सन्तुलन कायम गर्न चुनौती देखिएपछि नेपाल राष्ट्र बैंक र सरकारले नीतिगत कडाइ गरेको थियो । विभिन्न वस्तुको आयातमा लगाइएको प्रतिबन्ध एक वर्षपछि गत पुसदेखि खुला गरे पनि व्यापार व्यवसायले गति लिन सकेको छैन ।

कोभिडपछि अर्थतन्त्र पुनरुत्थानको क्रममा बढेको माग नियन्त्रण गर्न गरिएको ब्याजदर वृद्धि र प्रतिबन्धले अहिले पनि माग बढ्न सकेको छैन । वस्तुको माग नहुँदा एकातिर आर्थिक वृद्धि खुिम्चने देखिएको छ भने अर्कोतिर सरकारको आम्दानीमा व्यापक गिरावट आएको छ ।

अर्थशास्त्री रघुवीर बिष्ट मौद्रिक नीतिले बाह्य क्षेत्रको सन्तुलन कायम गर्न खोज्दा आन्तरिक समस्या देखिएको बताउँछन् । ‘सरकारको वित्तीय नीति शून्यतामा अल्झिएको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र सम्हालिरहेको छ,’ उनले भने, ‘मौद्रिक नीतिले अर्थतन्त्रको बाह्य क्षेत्र बचाउन प्रयास गरेको देखिन्छ । तर आन्तरिक रुपमा देखिएको संकट सम्बोधन गर्ने कुनै उपकरण र सरकारको भूमिका छैन ।’

अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहे पनि मन्त्रालय सम्हाल्ने नेतृत्व नहुँदा समस्या झनै थपेको उनले बताए । आयातमुखी अर्थसंरचना भएकाले वस्तुको आयात बढे सरकारको आम्दानी पनि बढने र आयात घटे राजस्व संकलनको लक्ष्य पनि घट्ने प्रवृत्ति छ । मागको चक्रमा आएको समस्याले उत्पादन बढेको छैन । सरकारको आम्दानी र खर्च बीचको खाडल बढ्दै गएको छ । खर्च अनुसार राजस्व संकलन नहुँदा सार्वजनिक वित्त घाटामा गएको छ ।

बाह्य क्षेत्रमा सुधार

गत वर्षदेखि सरकार र राष्ट्र बैंकको टाउको दुखाईको विषय बनेको बाह्य क्षेत्र असोज यता सुधार हुँदै गएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो डेढ वर्षमा विदेशी विनिमय संचिति अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । चालु खाता, शोधनान्तर स्थितिमा चालु वर्षको दोस्रो त्रैमासपछि बचतमा गएका छन् ।

रेमिट्यान्समा आएको गिरावट, उच्च आयातले बढ्दो व्यापार घाटाका कारण निरन्तर ओरालो लागिरहेको भुक्तानी सन्तुलन र विनिमय संचिति राष्ट्र बैंकको कसिलो नीतिले सकारात्मक छन् ।

गत असारको तुलनामा माघमा १३.८ प्रतिशतले वृद्धि भएर १३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । असारमा १२ खर्ब १५ अर्ब ८० विदेशी मुद्रा थियो । हाल कायम रहेको मुद्राले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैैंकको दाबी छ । राष्ट्र बैंकका अधिकारी नियामकको नीतिका कारण बाह्य क्षेत्रको दबाव कम भएर सुधार हुँदै गएको बताउँछन् ।

आन्तरिक भताभुंग

बाह्य स्थायित्व कायम गर्न खोज्दा आन्तरिक अर्थतन्त्र भने सिथिल भएको छ । मूल्य वृद्धि नियन्त्रण र माग घटाउन लिएको ब्याजदर वृद्धिको नीतिले महंगी झन बढाएको छ । अर्कोतर्फ उच्च ब्याजदर बजारमा नगद प्रवाह घटाएको छ । जसको कारण उत्पादित वस्तु समेत खपत नहुने अवस्था आएको छ ।

माग नहुँदा उद्योगधन्दा पूर्ण क्षमतामा चल्न सकिरहेका छैनन् भने उत्पादन गरिएका वस्तुकै मूल्य निरन्तर उकालो छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न सकेका छैनन् । ९ महिनासम्म कर्जा लगानी लक्ष्यको आधा पनि विस्तार गर्न सकेका छैनन् ।

राष्ट्र बैंकले यस वर्ष १२.६ प्रतिशतले कर्जा लगानी बढाउने लक्ष्य लिएको थियो । तर, सो लक्ष्यको आधा पनि यस वर्ष विस्तार गर्न नसकिने वित्तीय क्षेत्रका जानकारहरूको प्रक्षेपण छ । बैंकहरूको खराब कर्जा ६ महिनामै दोब्बरले बढेको छ । उच्च ब्याजदर वृद्धिले ऋणीहरूले लिएको रकम तिर्न सकिरहेका छैनन । अर्कोतर्फ कर्जाको माग नहुँदा उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सकेको छैन ।

राजस्व संकलनको लक्ष्य भेट्टाउन नसकिने देखिएपछि सरकारले अर्धवार्षिक समीक्षा मार्फत खर्च र आम्दानीको लक्ष्यमै व्यापक कटौती गरेको छ । आम्दानीले चालु खर्च समेत नधान्ने भएको छ ।

यही अवस्था रहे राजस्व संकलन अघिल्लो वर्षको तुलनामा ५ दशकपछि घट्ने अर्थशास्त्रीहरूको विश्लेषण छ । अर्कोतिर विकास खर्च ९ महिनामा २५ प्रतिशत पुग्न सकेको छैन ।

नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत