एजेन्सी । भारतीय अर्बपति गौतम अडानीको ‘अडानी समूह’ का विभिन्न कम्पनीमा भएको अनियमितता सार्वजनिक गरेर चर्चित बनेको अमेरिकी सर्टसेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले अर्को नयाँ खुलासा गरेको छ ।
गत महिना भारतका अर्बपति धनाढ्य गौतम अडानीलाई ‘इतिहासकै ठूलो वित्तीय ठगीमा संलग्न भएको’ भन्दै ४१३ पृष्ठ लामो प्रतिवेदन सर्वजनिक गरेको हिन्डेनबर्गले एक महिनापछि ट्वीटरका संस्थापकको ठगी बाहिर ल्याएको हो ।
हिन्डनबर्गले पछिल्लो रिपोर्टमा ट्वीटरका संस्थापक तथा पूर्वप्रमुख ज्याक डोर्सीको कम्पनी ब्लकलाई १ अर्ब डलर ठगी गरेको र लगानीकर्ताहरूलाई नियतबस झुक्याएको आरोप लगाइएको छ ।
टेक अर्बपति डोर्सीको कम्पनी ब्लकको पछिल्लो कुल बजार मूल्य ४४ अर्ब डलर छ । हिन्डेनबर्गले सो संस्थालाई लगानीकर्ताहरूलाई प्रभावित गर्न नक्कली प्रयोगकर्ता बनाएको र वित्तीय अपराधीहरूलाई सघाएको पनि आरोप लगाएको छ । ब्लकले सो आरोपलाई अस्वीकार गरे पनि उसको सेयर मूल्यमा १५ प्रतिशतको भारी गिरावट आइसकेको छ ।
हिन्डेनबर्गले आफ्नो प्रतिवेदनमा ब्लकको सफलता ‘जादुमय वा परिवर्तनकारी प्रविधि नभई नक्कली प्रयोगकर्ताको संख्या बढाएर लगानीकर्तालाई झुक्याउने, मिटरब्याजमा ऋण दिने, नियमन छल्ने र सरकार तथा ग्राहकलाई ठग्नेमा आधारित रहेको’ निष्कर्ष दिएको छ ।
हिन्डेनबर्गले अनुसन्धानका क्रममा गरेको रिसर्च र ब्लकका पूर्वकर्मचारीलगायतसँगको अन्तर्वार्ताका आधारमा कम्पनीका ४० देखि ७५ प्रतिशत प्रयोगकर्ताहरू नक्कली, ठगीमा संलग्न वा एकै व्यक्तिका अनेकौं प्रोफाइल भएको बताएको छ । ब्लकले लगानीकर्ता झुक्याउन नक्कली प्रयोगकर्ताको संख्यामा अत्यधिक वृद्धि गरेको हिन्डेनबर्गले आरोप लगाएको छ ।
साथै, प्रतिवेदनमा कम्पनीको क्यास एप‚ कालो धन, मानव बेचबिखनलगायत कयौं हत्याका घटना गराउने आपराधिक समूहका लागि सजिलो माध्यम बनेको पनि उल्लेख गरिएको छ ।
आफ्नो रिसर्चका क्रममा प्रमुख ज्याक डोर्सीकै नाममा कयौं नक्कली खाताहरू बनाएर ग्राहक झुक्याउने काम भइरहेको भन्दै हिन्डेनबर्गले आफूले सजिलै ज्याक डोर्सी, डोनाल्ड ट्रम्प, इलन मस्कको नाममा नक्कली खाता बनाउन र बिनाअवरोध कारोबार गर्नसमेत सकेको उदाहरण दिएको छ । सन् २०१९ मा ब्लकले झन्डै डेढ अर्ब डलर खुद नाफा गरेको थियो भने लगभग ५० करोड डलर यसको क्यास एपबाट मात्रै प्राप्त भएको थियो ।
गत महिना हिन्डेनबर्गले अगानी ग्रुपको ठगीभन्दा बारे प्रतिवेदन सार्वजनिक गरेपछि झन्डै १२१ अर्ब सम्पत्तिसहित संसारकै धनाढ्यको सूचीमा तेस्रो स्थानमा रहेका अडानीले त्यसयता १०० अर्बभन्दा बढी अमेरिकी डलरको नोक्सानी बेहोरिसकेका छन् । हिन्डेनबर्गको प्रतिवेदनअघि लगभग २३६ अर्ब डलर आकलन गरिएको उनको समूहको कूल बजार मूल्य एक महिनामै घटेर १२७ अर्ब डलरमा आइपुगेको छ । विश्वका धनाढ्यको सूचीमा अडानी अहिले २५ औं नम्बरमा झरेका छन् ।