नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार, तराईमा सबैभन्दा धेरै (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

सार्वजनिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ जना (४८.९८ प्रतिशत र महिला १ करोड ४९ लाख ११ हजार २७ जना (५१.०२ प्रतिशतए रहेका छन् । अन्य लिङ्गीको संख्या २ हजार ९२८ छ ।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदन अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० थियो ।

पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब २७ हजारले जनसंख्या घटेको देखिएको छ ।

भौगोलिक क्षेत्रअनुसार तराईमा कूल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ ।

प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।

जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं (२० लाख ४१ हजार ५८७ जना) र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ (५ हजार ६५८ जना) हो ।

जनगणनाको नतिजाअनुसार जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जनाप्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० प्रतिवर्ग किलोमिटर मात्र थियो ।

भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रतिवर्ग किलोमिटर) र सबै भन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ ।

 

उपत्यकामा बढ्दो सवारी दुर्घटना, ३ वर्षमा ४८४ जनाको मृत्यु Read Previous

उपत्यकामा बढ्दो सवारी दुर्घटना, ३ वर्षमा ४८४ जनाको मृत्यु

‘हिन्डेनबर्ग’को अर्को खुलासा, ट्वीटरका संस्थापक ज्याक डोर्सीले १ अर्ब डलर ठगेको आरोप Read Next

‘हिन्डेनबर्ग’को अर्को खुलासा, ट्वीटरका संस्थापक ज्याक डोर्सीले १ अर्ब डलर ठगेको आरोप