काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरू गरेका छन् ।
दुई कम्पनी मर्ज भई आज (चैत ९ गते)देखि ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार थालेका हुन् ।
यसअघि दुवै कम्पनीको फागुन १२ गते बसेको साधारण सभाले मर्जर सम्बन्धी प्रताव पारित गरिसकेका छन् । त्यस्तै, नेपाल बीमा प्राधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते मर्ज भई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए ।
दुई कम्पनी समान हैसियत अर्थात् १ः१ सेयर अनुपातमा गाभिएका हुन् । हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड र रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ छ ।
नयाँ कम्पनीको एकीकृत चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीले अझै ८२ करोड रुपैयाँ पूँजी जुटाउनुपर्छ ।
यस्तै, नयाँ कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ३४ करोड, जगेडा कोषमा ७७ अर्ब ५४ करोड र सेयरधनी कोषमा ४ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।