काठमाडौं। काठमाडौं महानगरपालिकाले सबै सेवा एकै ठाउँबाट प्रदान गर्न काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार महानगरले काठमाडौं प्लाज बहालमा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरेका छन्।
महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता गरेको हो । ५ वर्षपछि १० प्रतिशतले भाडा वृद्धि हुने सम्झौतामा उल्लेख छ । महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्नेगरी सम्झौता भएको छ ।
सम्झौता अनुसार काठमाडौं प्लाजामा झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ । मर्मत गर्दा लागेको खर्च महानगरले भाडा रकमबाट कटाउने पाउने छ ।
५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ् छ ।
भवन महानगरले कार्यालय प्रयोजनमा ल्याउनेछ। भवन छोड्नु वा छोड्न लगाउनु परेमा १८० दिन अगावै जानकारी गराउनु पर्नेछ। बिजुली,पानीलगायत सुविधाको महसुल महानगरपालिकाले भुक्तानी गर्नेछ।