काठमाडौं । नारायणघाट–बुटवल सडक विस्तारको काम सुस्त भएको छ । ठेकेदारको हेलचक्र्याइँ र ढिलासुस्तीका आयोजनाले गति लिन नसकेको हो ।
हाल दुई लेनमा रहेको उक्त सडकलाई २०७९ असार चार लेनमा विस्तार गरीसक्ने गरी २०७५ चैतमा काम सुरु गरिएको थियो । सो अवधिमा काम नसकिएपछि १ वर्ष म्याद थपिएको थियो । थपिएको म्याद सकिन अब ३ महिना मात्र बाँकी रहे पनि अझै ७३ प्रतिशत काम बाँकी रहेको छ ।
११४ किलोमिटर लामो यस सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका अनुसार हालसम्म समग्रमा हालसम्म करिब २७ प्रतिशत मात्र काम पूरा भएको छ । जसमा प्याकेज–१ (बुटवल–दाउन्ने खण्ड)को २३ प्रतिशत र प्याकेज–२ (नारायणघाट–दाउन्ने खण्ड)को २४ प्रतिशत काम भएको छ ।
आयोजना प्रमुख प्रदीपराज शाक्यले चालु आर्थिक वर्षमा आयोजना अन्तर्गत थप ७ प्रतिशत मात्र काम भएको बताए । उनले हाल केही खण्डमा कालोपत्रको काम सुरु भए पनि अधिकांश स्थानमा सडक विस्तार, ग्राभेल, वाल लगाउने, नाला बनाउने लगायत काम भइरहेको बताए ।
उनले चालु आवमा ४५ प्रतिशत हाराहारीमा निर्माण सक्ने लक्ष्य सहित निर्माण कम्पनीले काम गरिरहेको बताए । ‘निर्माण व्यवसायीले अहिले कामको गति बढाएको छ । कालोपत्र पुल, स्ट्रक्चरको काम ठाउँ ठाउँमा भइरहेको छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ‘उसले दिएको सेड्युल अनुसार उसले काम गर्यो भने भने जस्तो लक्ष्य हासिल गर्न सक्छौँ ।’
उनका अनुसार भुमहीखण्डको दायाबायाँ बासाबसै क्षेत्रमा कालोपत्रको काम सुरु भइसकेको छ । बदरा खण्डमा समेत कालोपत्रको काम भइरहेको छ । उक्त कालोपत्रको काम चालु आवभित्र सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
आयोजना अन्तर्गत रुख कटानको काम ९९ प्रतिशत सकिसकेको छ । विद्युत् पोल सार्ने काम ३० प्रतिशत पूरा भइसकेको छ । अहिले गैँडाकोटबाट डण्डासम्म मापदण्डभित्र पर्ने संरचना हटाउने तथा रुख काट्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।
१३ वटा सानो पुल निर्माणको काम सकिसकेको छ । ४ वटा सानो पुलहरू निर्माण हुँदै छन् । ठूलो ३ वटा निर्माण भइसकेको उनले जानकारी दिए । ३ वटा ठूला पुल थप निर्माणाधीन अवस्थामा रहेका छन् ।
उनका अनुसार ३ वटा ठूला पुलहरू यही आवमा सम्पन्न गर्ने गरी काम भइरहेको छ । उनले भूमही, मलुही, भरुबही खोलाको ठूला पुल निर्माण सकिने गरी काम भइरहेको बताए ।
आयोजना अन्तर्गत हालसम्म १५ प्रतिशत रकम भुत्तानी भइसकेको छ । चिनियाँ कम्पनी कम्पनी चाइना स्टेट इञ्जिनीयरिङ कर्पाेरेशनले १९ अर्ब ९९ करोड ५२ लाखमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएको हो ।
एशियाली विकास बैंकले लागतको ८५ प्रतिशत र बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानीमा सडक विस्तार हुनेछ । एडीबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।
म्याद थप गर्ने तयारी
शाक्यका अनुसार चिनियाँ कम्पनीले निर्माण पूरा गर्न म्याद थपका लागि समेत माग गरेका छन् । हाल परामर्शदाताले म्याद थपका लागि मूल्यांकनको काम गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार परामर्शदाताले तोकेर नदिएसम्म कति समयलाई म्याद थप गरिने जानकारी रहेको छैन । ‘उनीहरूले यो आवभित्र ४५ देखि ५० प्रतिशत काम सक्छु भनेका छन्, त्यसका लागि म्याद थप गरिदिन पनि भनेका छन्, अहिले परामर्शदाताहरूले त्यसका लागि मूल्यांकनको काम गरिरहेका छन्,’ उनले भने ।
ठेकेदारका विभिन्न बहाना
विस्तारका क्रममा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको काम सुरु भएको ५ वर्ष पूरा हुनै लाग्दा समेत न्यून प्रगति देखिएको हो ।
विगतमा कोभिड–१९ का कारण प्रगति देखाउन नसकेको नारायाणघाट बुटल सडक विस्तार आयोजना हाल रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतका कारण ढिलाइ भएको बताउँदै आएको छ ।
पछिल्लो समय क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएकोले निर्माणको कामले गति लिन नसकेको उनीहरूको भनाइ छ ।
३५ अन्डरपास बन्ने
नारायणघाट बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल) मा १३ गरेर जम्मा ३५ अन्डरपास निर्माण हुने आयोजनाले जनाएको छ ।
वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला अन्डरपास निर्माण गरिने छ । ३५ अन्डरपासमध्ये कतिपय ठूला पुल र कल्र्भटलाई अन्डरपासको रुपमा बनाइएको छ । यसरी निर्माण गरिने अन्डरपास तीन मिटरदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने छ ।