काठमाडौं । पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा १८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
लम्बाइका हिसाबले ठूला पुल सम्पन्न भइसकेका र अब निर्माण गर्न बाँकी रहेकामा अधिकांश साना पुल नै रहेको निर्देशनालयमा कार्यरत इञ्जिनियर शिवशरण तिमल्सिनाले जानकारी दिए ।
निर्माणमा जान बाँकी पुलमध्ये बढी लम्बाइको पुल कर्णाली नदीमा निर्माण गर्नुपर्ने छ । त्यसबाहेक अधिंकाश कम लम्बाइको हुनसक्ने देखिएको उनले बताए । उनले भने, ‘डेढ-दुई सय मिटरसम्मको पुल हुनसक्छ ।’
चालु आवमा २४ किमी सडक कालोपत्रसँगै १० पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । हालसम्म चार पुल सम्पन्न भइसकेको र अरूमा निर्माण भइरहेको उनले बताए । पहिले निर्माण भइसकेका सडकलाई स्तरोन्नति गर्ने गरी सुरु भएको राजमार्गमा ठाउँठाउँमा अरू सडकमा जोडिने भएको छ । अरू राजमार्ग कम चौडाइका भएमा त्यसलाई पनि मदन भण्डारीको स्तरमा स्तरोन्नति गरिने योजना रहेको इञ्जिनियर तिमल्सिनाले जानकारी दिए ।
अहिले एक लेन (३.५ मिटर चौडाइ) वा इन्टरमेडिएट (५.५ मिटर चौडाइ) को पुल भएमा तिनको पनि भविष्यमा राजमार्गको स्तरमा स्तरोन्नति हुनसक्ने उनले बताए। उनले भने, ‘अहिले भर्खरै चलिरहेको पुल भएमा त्यहाँको सवारी साधनको चापका आधारमा आवश्यक देखिएमा काम हुन सक्नेछ ।’
चालु आवमा राजमार्गका लागि सरकारले रु २ अर्ब ८२ करोड विनियोजन गरेको थियो । सरकारले प्राथमिकता प्राप्त आयोजना (पीवान) का रुपमा अघि बढाइरहेको सो आयोजनाको जम्मा लम्बाइ १ हजार ३९० किमी रहेको छ । जम्मा लम्बाइमध्ये निर्देशनालयले ७४० किमी सडक निर्माण गर्ने भएको छ भने बाँकी अरू निकायबाट निर्माण भएको छ ।
सो राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा समेत हेरिएको छ । सरकारले पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको चाप बढिरहँदा ४ देखि ६ लेनमा विस्तार गरिरहेको छ । राजमार्गको विकल्पका रुपमा यो राजमार्गले पनि पूर्व–पश्चिम राजमार्गको चाप कम गर्ने अपेक्षा गरिएको छ ।