काठमाडौं । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ ।
आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७९/८० सम्म ८ हजार ९७४ उद्योगका लागि उक्त लगानी प्रस्ताव भएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७० हजार २५५ जनालाई रोजगारी उपलब्ध गराएको उल्लेख छ ।
८ महिनामा साढे एक खर्बको प्रतिबद्धता
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना (गत साउनदेखि फागुन मसान्तसम्म)को तथ्याङ्कअनुसार स्वदेशी र विदेशी लगानीका १८३ वटा उद्योगका लागि रु १ खर्ब ५५ अर्ब बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।
यस्तै, ८ महिनाको अवधिमा २३९ विदेशी लगानीका उद्योगका लागि रु ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १९६ लगानी प्रतिबद्धता आएको छ । जसमा फागुनमा मात्रै रु ३ अर्ब ४४ करोड ९८ लाख ३८ हजार ६०० विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा मात्र रु २ अर्ब ६४ करोड नौ लाख, भदौमा रु ३ अर्ब ४४ करोड ६५ लाख, असोजमा रु १ अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा रु ३ अर्ब ६५ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
यस्तैगरी मङ्सिरमा रु ८० करोड ८ लाख, पुस महिनामा रु चार अर्ब ८५ करोड २० लाख, माघ महिनामा रु एक अर्ब ३९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनमा रु ५ अर्ब ५३ करोड ५० लाख, भदौमा रु ६ अर्ब ३२ करोड, असोजमा रु ११ अर्ब ९६ करोड ५ लाख, कात्तिकमा रु ९८ करोड, मङ्सिरमा रु ५ अर्ब १५ करोड ५१ लाख, पुसमा रु ६१ करोड २० लाख, माघमा रु ५३ करोड ९५ लाख र फागुनमा रु २ अर्ब २३ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
साढे १३ अर्ब नाफा विदेशीयो
चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा झण्डै साढे १३ अर्ब नेपाली विदेशीएको छ । उद्योग विभागले सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशवापत रकम फिर्ताको सिफारिस भएको हो ।
विभागले ८ महिनामा रोयल्टीवापत रु २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १०७ नेपाली रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।
विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।