सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३/११ केभी सराङघाट सबस्टेशन निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेशनबाट बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेशनसम्म पुर्याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये १ हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेशनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेशन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् ।

सराङघाट सबस्टेशनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि सबस्टेशनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ ।

सबस्टेशनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन् । दुई सबस्टेशन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी)को सहुलितपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाबाट २२० किलोमिटर फिडर लाइन र ३५० किलोमिटर वितरण लाइन निर्माण गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार सो सबस्टेशनको शुभारम्भ गर्दै विद्युत् सेवा नपुगेका सबै घरधुरीमा दुई वर्षभित्र विद्युत् विस्तार हुने बताए । उनले भने, ‘सबै नेपालीको घरमा विद्युत् पुर्याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौँ, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन् । योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौँ ।’

एडीबीका नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले नेपालले पछिल्लो एक दशकमा विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गरे । उनले भने, ‘विश्वको विद्युत् पहुँचको वार्षिक वृद्धिदर औसतमा ०.८ प्रतिशत रहेकामा यसका तुलनामा नेपालको धेरै तीव्रदर अर्थात् ४.३ प्रतिशत रहेको छ, विद्युत् प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्दछौँ ।’ उनले नेपालको पूर्वाधार क्षेत्रमा एडिबीको लगानी निरन्तर रहने बताए ।

तनहुँ जलविद्युत् आयोजनाका प्रमुख बोधराज ढकालले तनहुँ जिल्ला सारभूतरूपमा पूर्ण विद्युतीकरण भएको उल्लेख गर्दे दुई महिनाभित्र पूँजीकरणको काम सम्पन्न गरी आयोजना बन्द गरिने बताए ।

१६७ वर्ष लामाे इतिहास भएको क्रेडिट स्वीस बैंकको अस्तित्व समाप्त Read Previous

१६७ वर्ष लामाे इतिहास भएको क्रेडिट स्वीस बैंकको अस्तित्व समाप्त

सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार मिति तय Read Next

सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार मिति तय