काठमाडौं । समयमै तरलताको व्यवस्थापन गर्न नसक्दा १६७ वर्ष पुरानो क्रेडिट स्वीस बैंकको अस्तित्व समाप्त भएको छ ।
तरलताका कारण संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो युनियन बैंक अफ स्वीट्जरल्याण्ड (यूबीएस)ले खरिद गर्ने सम्झौता गरेको छ ।
यूबीएसले स्वीस बैंकलाई ३ अर्ब स्वीस फ्र्यांक (३ अर्ब २५ करोड अमेरिकी डलर) मा खरिद गर्ने सम्झौता गरेको हो ।स्वीस क्रेडिटले तरलता व्यवस्थापनका लागि मुख्य लगानीकर्ता साउदी नेसनल बैंकसँग थप आर्थिक सहायता मागेको थियो । तर, साउदी नेसनल बैंकले आर्थिक सहायता प्रदान गर्न नसक्ने बताएपछि यूबीएसले स्वीस क्रेडिट किन्ने भएको हो ।
स्वीस क्रेडिटमा साउदी नेसनलको ९.९ प्रतिशत सेयर स्वामित्व रहेको थियो । साउदीले स्वीस बैंकको सेयर प्रतिकित्ता ४.१२ अमेरिकी डलरका दरले सेयर खरिद गरेको थियो । अहिले यूबीएसले स्वीस बैंकको सेयर प्रतिकित्ता ०.७६ फ्र्यांक (०.८२ अमेरिकी डलर)का दरले किन्ने भएको हो ।
साउदी नेसनल बैंकले क्रेडिट स्वीसमा भएको लगानीवापत ८० प्रतिशत नोक्सानी ब्यहोरेको जनाएको छ । साउदी नेसनल बैंकका अध्यक्ष अम्मार अल खुदियारीले आतंक सिर्जना गराई बैंकमाथि षडयन्त्र गरिएको प्रतिक्रिया दिएका छन् ।
यूबीएसको खरिदबाट मात्रै बैंकिङ प्रणालीमा स्थायित्व नहुने भएकाले प्रणालीगत जोखिम कायमै रहने स्वीसका अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।
सन् १८५६ मा स्थापित क्रेडिट सुइसले वर्षौंदेखि लगानीकर्ता र ग्राहकहरूको विश्वास गुमाउँदै आएको थियो। पछिल्लो समय विश्वभर बैंकिङ क्षेत्रमा संकट उत्पन्न भएको छ । दुई साता अघि मात्र अमेरिकामा दुई ठूला बैंक सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएका थिए ।