व्यापार व्यवसाय सुनसान छ, व्यवसायीले खर्च धान्न सक्ने अवस्था छैन : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यापार व्यवसाय सुनसान भएको र सामान्य खर्च धान्न समेत कठिन भएको बताए ।

आइतबार पोखरामा आयोजित लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्य उनले बजार सुनसान भएको, उद्योगको उत्पादन घटेको रोजगारी कटौती भएको र खर्च धान्ने अवस्था नभएको बताएका हुन् ।

‘हामीले सामान्य खर्च धान्नै सकेका छैनौं। अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पना भन्दा बाहिरको कुरा हो,‘ उपाध्यक्ष श्रेष्ठले भने।

उनले अर्थतन्त्र धरासायी भएको र बजार पीडामा बाँचिरहेको गुनासो गर्दै त्यसलाई समाधान गर्न नियामक र सरकारले तत्काल योजना ल्याउनुपर्ने माग गरे। यो समस्या कसले निराकरण गर्ने भनेर व्यवसायीहरू चिन्तित भएको उनले स्पष्ट पारे ।

‘बेस रेट तोकिसकेपछि फेरि बैंकहरूले प्रिमियम ब्याज तोकेर थप किन लिने ? ब्याजदर १० प्रतिशत भन्दा धेरै गर्न हुँदैन र साना तथा मझौला व्यवसायीहरूका लागि अझ ब्याज घटाउनुपर्दछ,’ उनले भने ।

श्रेष्ठले उद्योगी व्यवसायीहरूको हरेक समस्यासँग जुधेर आफू अगाडि बढिरहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरेका थिए। उनले आगामी दिन युवाहरूकै भएको भन्दै उद्योगी व्यवसायीहरूलाई मार्गदर्शन गर्न अनुरोध गरेका थिए। श्रेष्ठले उद्योग व्यवसाय गर्ने र लगानी मैत्री वातावरणका लागि सँधै अग्रसर रहने स्पष्ट पारेका थिए।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले अहिलेको अवस्थामा व्यापार व्यवसाय गर्न कठिन भएको भन्दै त्यसमा सरकारले हेर्नुपर्ने सुझाब दिएका थिए। व्यवसायीहरूले अहिले बजारमा नगद अभाव हुँदा भएको वस्तु तथा सेवा समेत खपत नभएको भन्दै बजारमा सहजरुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक भएको बताएका थिए।

ब्याजदर एकल अंकमा ल्याउन हानको माग Read Previous

ब्याजदर एकल अंकमा ल्याउन हानको माग

प्रधामन्त्री प्रचण्डले पाए विश्वासको मत, विपक्षमा ८९ मत Read Next

प्रधामन्त्री प्रचण्डले पाए विश्वासको मत, विपक्षमा ८९ मत