काठमाडौं । केही महिना यता सेयर बजारलाई प्रभाव पार्ने मुख्य सूचकहरूमा सुधार देखिए पनि अर्थतन्त्रको ऐना मानिने सेयर बजारको ओरालो यात्रा निरन्तर जारी छ ।
पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा लगातार सुधार आउनु, तरलता सहज हुँदै जानु, ब्याजदर घट्दै गए पनि सेयर बजारले भने उल्टो यात्रा तय गरिरहेको हो । यद्यपि, गत पुसमा नेप्सेले ३५० अंकको फड्को मारेको भए पनि त्यो दीर्घकालीन हुन सकेन । माघमा २२०० विन्दुमा पुगेको नेप्से अहिले फेरि घटेर १९०० विन्दु हाराहारीमा आइपुगेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार अर्थतन्त्र अधिकांश सूचकहरू सकारात्मक दिशामा छन् । विदेशी मुद्रा संचिति १७ महिना यताकै धेरै पुगेको छ । रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च छ । सरकारको चालु खाता र शोधान्तरस्थिति सुधारोन्मुख छ । व्यापार घाटा घट्दो छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले चैतदेखि नै लागू हुने गरी बचको ब्याजदर घटाएका छन् भने कर्जाको प्रिमियम १ प्रतिशतले घटाएका छन् ।
त्यस्तै, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । अहिले बैंकिङ प्रणालीमा झन्डै २०० अर्ब तरलता रहेको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल सीडी रेसीयो ८५ प्र्रतिशतको हाराहारीमा छ । वित्तीय संस्थाहरूले ९० प्रतिशतको सीडीको अनुपातसम्म कर्जा दिन पाउने व्यवस्था छ ।
यसरी सेयर बजारलाई प्रभाव पार्ने मुख्य सूचकहरूमा सुधार देखिए पनि देशको अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने लगातार उल्टो दिशामा गइरहेको छ । २०७८ भदौ यता ओरालो लागेको नेप्से झन्डै १४०० अंकले घटिसकेको छ । पछिल्लो डेढ महिनामा मात्रै नेप्से झन्डै ३५० अंकले घटेको छ । सेयर बजार घट्दा लगानीकर्ताले डेढ वर्षको अवधिमा झन्डै १५ खर्ब गुमाएका छन् । सरकारले पाउने राजस्वमा पनि उच्च गिरावट आएको छ ।
किन बढ्न सकेको छैन सेयर बजार ?
सेयर बजार ओरालो लाग्नुका मुख्य कारण नेपाल राष्ट्र बैंकको नीतिगत कडाइ, ब्याजदर वृद्धि, लगानीकर्ताको गिर्दो मनोबल, राजनीतिक अस्थिरता लगायत कारण रहेको लगानीकर्ताहरू बताउँछन् ।
इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार राजनीतिक अस्थिरता र पूँजीबजारप्रतिको मनोविज्ञानले बजार बढ्न नसकेको बताउँछन् । ‘अझै नीतिगत कडाइहरू हटाइएको छैन, राजनीतिक अस्थिरता कायमै छ,’ उनले भने, ‘सरकार परिवर्तन र अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने व्यक्तिले पनि बजारको मनोविज्ञानमा असर पारेको हुन्छ । अहिले नै अर्थमन्त्रीको र कुन पार्टीको आउँछ भन्ने निश्चित छैन । त्यसले पनि निर्धारण गर्छ ।’
नियामक निकायका जिम्मेवार अधिकारीको गैरजिम्मेवारीले लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाएको र यसले पूँजी बजारको विकासमा अवरोध सिर्जना गरेको उनले बताए । अब बैंकको ब्याजदरमा आइरहेको गिरावट, तरलता सहज र राजनीतिक स्थायित्व कायम भए बजार उकालो लाग्ने उनको तर्क छ ।
ब्याजदर र तरलतामा केही सहजता देखिए पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारले गति लिन नसकेको लगानीकर्ता नरेश पोखरेल बताउँछन् । ‘अर्थतन्त्रको बाहिरी सूचकमा सुधार देखिए पनि आन्तरिक दबाब कायमै छ । अर्कोतर्फ अहिले निक्षेपको ब्याजदर घटेको हो, कर्जाको घटेको छैन । बैंकहरूले सजिलै कर्जा दिन मानिरहेका छैनन्,’ उनले भने, ‘यसले लगानीकर्ताको लगानी गर्ने मनोबल अझै बढ्न सकेको देखिँदैन ।’
यस्तै, पछिल्लो समय सत्ता समीकरणमा आएको फेरबदलले पनि लगानीकर्ताको मनोबल बढ्न नसकेको उनले बताए । नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि नेप्से केही बढे पनि पछिल्लो समय निरन्तरता पाउन नसकेको उनले बताए ।राष्ट्र बैंक र गर्भनरको सेयर बजारलाई हेर्न अल्पदृष्टिका कारण पनि लगानीकर्ताले ढुक्कले लगानी गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।
सेयर बजारमा लगानीकर्ताको मनोबलले ठूलो प्रभाव पारेको हुन्छ । तर, पछिल्लो समय लगानीकर्तामा कन्फिडेन्स बढ्न नसक्दा बजारले गति लिन नसकेको हो । विश्व्व्यापी बैंकिङ प्रणालीमा आएको संकटले पनि लगानीकर्तालाई प्रभावित बनाएको छ । दुई साता अघि मात्रै अमेरिका दुई ठूला बैंक डुबे । कतै नेपालका बैंकहरू पनि डुब्ने त होइन भन्ने त्रास उत्पन्न भएको छ । यसले लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।
यस्तै, राष्ट्र बैंकले पूँजी बजारप्रतिको नीतिगत कडाइ कायमै राखेको छ । राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति मार्फत लागू गरेको सेयर धितोकर्जाको १२ करोडको सीमा यथावत छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको समीक्षा मार्फत एउटा बैंकबाट ४ करोड मात्रै ऋण लिन पाउने व्यवस्था हटाए पनि १२ करोडको सीमा भने यथावत राखेको छ ।
लगानीकर्ताले उक्त व्यवस्था हटाउन लामो समयदेखि माग गर्दै आए पनि राष्ट्र बैंकले कुनै सुनुवाइ गरेको छैन । जसकारण सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकममा ऋण लिएर लगानी गर्ने अवस्था छैन ।
बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमा लगानीका लागि प्रदान गर्ने यस्तो कर्जाको हिस्सा पनि घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालु वर्षको सात महिनामा यस्तो कर्जा ७ प्रतिशत र पछिल्लो एक वर्षमा १६ प्रतिशतले घटेको छ । वित्तीय प्रणालीमा तरलता अभावको कारक सेयर बजारमा प्रवाह भएको ठूलो कर्जा समेत रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।
कोभिड अवधिमा सेयर बजारमा लगानी भएको र सो लगानी ठूला लगानीकर्ताले अन्यत्रै लगानी गरेको कारण अन्य क्षेत्रमा समेत समस्या देखिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । जसको कारण सेयर कर्जामा राष्ट्र बैंकले नीतिगत कडाइ कायमै राखेको छ ।