प्रिमियममा आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्सको नाफामा उच्च गिरावट

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमास वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ६२.८३ प्रतिशतले घटेको हो ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ७ करोड ८४ लाख रुपैयाँ कम हो । गत वर्ष पुससम्म हिमालयनले १२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क, अन्य आयबाट हुने आम्दानी बढे पनि पुरानो आयव्यय हिसाबबाट २० करोड ६५ लाख नोक्सान सारेकाले नाफामा भारी गिरावट आएको हो ।

पुस मसान्तसम्म कम्पनीले कुल २ अर्ब ३६ करोड पैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले जम्मा २९ करोड ९९ लाख रुपैयाँ मात्र बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीले कर्जा लगानी तथा अन्य आयबाट २८ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल ७ अर्ब चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १७ करोड ७७ लाख रुपैयाँ संचित छ । यस्तै, महाविपत्ति कोषमा १ करोड ५० लाख र बीमा कोषमा १३ करोड ६९ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०४.७१ रुपैयाँ छ । कम्पनीले निकट भविष्यमै प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने तयारी गरेको छ ।

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति Read Previous

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

नेप्सेमा एकैदिन दुई कम्पनीको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ? Read Next

नेप्सेमा एकैदिन दुई कम्पनीको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ?