काठमाडौं । चालू आर्थिक वर्ष (२०७६/७७) को पहिलो तीन महिनामा ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्यांकका अनुसार कूल ३ खर्ब ३५ अर्ब ९४ करोड रुपैयाँको आयात गर्ने क्रममा ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ व्यापार घाटा भएको हो ।
गत वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा १२ प्रतिशतले कम रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।
१० प्रतिशतले आयात घट्यो
गत आर्थिक वर्षको तुलनामा यो आवमा आयातमा समेत कमी आएको तथ्यांकले देखाएको छ । गत आवको तुलनमा चालू आवमा १०.३४ प्रतिशतले आयात घटेको भन्सार विभागले जनाएको छ ।
चालू आवको असोज महिनासम्ममा आयातका क्रममा ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको असोज महिनासम्ममा ३ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बाहिरिएको थियो ।
१४ प्रतिशतले बढ्यो निर्यात
गत आर्थिक वर्ष (२०७५/७६) को तुलनामा चालू आवको तीन महिनामा निर्यात भने बढ्दो क्रममा रहेको भन्सारको तथ्यांकले देखाएको छ ।
गत आवको तुलनमा चालू आवको असोज महिनासम्ममा निर्यात १४.४१ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको यो तीन महिनामा निर्यातका क्रममा २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँ भित्रिएको छ ।
गत आर्थिक वर्षको असोज महिनासम्ममा आयातका क्रममा २३ अर्ब ७४ करोड ४९ लाख रुपैयाँ नेपाल भित्रिएको थियो ।
सबैभन्दा धेरै व्यापार घाटा व्यहोर्नु परेका वस्तुहरु
नेपालमा ९७ किसिमका वस्तुहरु आयात हुने गर्दछन् । यी वस्तुहरु आयातका क्रममा पेट्रोलियम पदार्थ, बोइलर मेसिन तथा मेसिनरी पार्टस्, विद्युतीय सामग्री, सवारी साधन तथा पाटपुर्जा, फलाम तथा स्टिल, प्लास्टिक तथा प्लास्टिकका भाँडा लगायतका सामग्रीमा सबैभन्दा बढी व्यापार घाटा भएको देखिएको छ ।
नेपालले पेट्रोलियम पदार्थ आयातमा सबैभन्दा बढी व्यापार घाटा व्यहोर्दै आएको छ । नेपाल पेट्रोलियम पदार्थ पूर्णरुपमा आयातमा निर्भर रहेको हुँदा यस्तो अवस्था सृजना भएको हो ।
चालू आर्थिक वर्षको असोज महिनासम्ममा ४७ अर्ब ३५ करोड १५ लाख रुपैयाँ पेट्रोलियम पदार्थ आयातकै क्रममा बाहिरिन पुगेको छ ।
दोस्रोमा बोइलर, मेसिनेरि अप्लायन्स तथा त्यसका पार्टपुर्जाहरु आयात हुने गरेको छ । यसमा पनि नेपाल पूर्णरुपमा आयातमै निर्भर रहेको छ । बोइलर तथा मेसिनेरि सामग्री आयातका क्रममा यो आर्थिक वर्षको ३ महिनामा नेपालबाट २८ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बाहिरिएको छ । सो आयातका क्रममा नेपालले २८ अर्ब ६ करोड ५७ लाख रुपैयाँ व्यापार घाटा व्यहोर्नु परेको थियो ।
तेस्रोमा सवारी साधन तथा त्यसका पार्टपुर्जाहरु आयातमा बढी रकम बाहिरिने गरेको छ । चालू आवको असोज मसान्तसम्ममा सवारी साधन आयातका क्रममा २७ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ बाहिरिएको छ । सवारी साधन आयात गर्दा नेपालले यो आवको ३ महिनामा २७ अर्ब ३४ करोड २ लाख रुपैयाँ व्यापार घाटा व्यहोर्नु परेको छ ।
चौथोमा फलाम तथा स्टिल आयातका क्रममा बढी रकम बाहिरिने गरेको छ । चालू आवको पहिलो ३ महिनामा फलाम तथा स्टिल आयात गर्दा नेपालबाट २७ अर्ब ८६ करोड ७७ लाख रुपैयाँ बाहिरिएको थियो । नेपालले यो आवको असोज मसान्तसम्ममा फलाम तथा स्टिल आयातका क्रममा २७ अर्ब ३० करोड ९२ लाख रुपैयाँ व्यापार घाटा व्यहोर्नु परेको छ ।
पाचाैंमा विद्युतीय सामाग्री आयातका क्रममा बढी रकम बाहिरिने गरेको छ । चालू आवको असोज महिनासम्ममा विद्युतीय सामग्री आयातका क्रममा २७ अर्ब ५ करोड २५ लाख रुपैयाँ बाहिरिन पुगेको छ । सो आयातका क्रममा चालू आवको ३ महिनामा सरकारले २७ अर्ब १ करोड रुपैयाँ व्यापार घाटा व्यहोर्नु परेको हो ।
यस्तै प्लास्टिक तथा प्लास्टिक जन्य वस्तु आयातमा अर्बौको रकम बाहिरिने गरेको छ । चालू आवको ३ महिनामा १३ अर्ब २१ करोड ४७ लाख रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ । सो आयातका क्रममा चालु आवको ३ महिनामा नेपालले १३ अर्ब ५ करोड ४१ लाख रुपैयाँ व्यापार घाटा बेहोर्नु परेको हो ।