सेयर बजारमा धेरै चलखेल हुने हाइड्रोपावरकै वर्चश्व, झन्डै एकतिहाई हिस्सा

काठमाडौं । सेयर बजारमा जलविद्युत् (हाइड्रोपावर) कम्पनीहरूको वर्चश्व बढ्दै गएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत हुने हाइड्रोपावर कम्पनीको संख्या बढेसँगै बजार हिस्सा पनि बढेको हो ।

नेप्सेका अनुसार सेयर बजारमा हाइड्रोपावरको हिस्सा झन्डै एकतिहाई पुगेको छ । दुई वर्ष अघिसम्म वाणिज्य बैंकको वर्चश्व रहेको सेयर बजारमा अहिले हाइड्रोपावरको बजार हिस्सा सबैभन्दा धेरै पुगेको हो ।

पछिल्लो ३ वर्षको अवधिमै नेप्सेमा हाइड्रोपावरको हिस्सा तेब्बरभन्दा धेरैले बढेको छ । आर्थिक वर्ष २०७६/७७ सम्म सेयर बजारमा हाइड्रोपावरको हिस्सा ९.८ प्रतिशत मात्रै रहेकोमा चालु वर्षमा आइपुग्दा तेब्बरले बढेर ३०.३ प्रतिशत पुगेको छ । यो नेप्सेमा सूचीकृत १३ क्षेत्रका कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो ।

पछिल्लो समय हाइड्रोपावर कम्पनीहरूले धमाधम आइपीओ जारी गरी नेप्सेमा सूचीकृत हुन थालेपछि बजार हिस्सा सबैभन्दा धेरै भएको हो । पछिल्लो ३ वर्षमा मात्रै नेप्सेमा ४० बढी हाइड्रोपावर कम्पनी सूचीकृत भएका छन् ।

आव २०७६÷७७ सम्म नेप्सेमा हाइड्रोपावर कम्पनीको संख्या २५ रहेकोमा हाल ६५ पुगेका छन् । त्यस्तै, थप १ दर्जनबढी हाइड्रोपावर नेप्सेमा सूचीकृत हुने तयारीमा छन् । हाल १० कम्पनी आइपीओ निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर बसेका छन् । आइपीओ जारीपछि ती कम्पनीहरू पनि नेप्सेमा सूचीकृत हुनेछन् ।

नेप्सेका अनुसार हाल ६५ हाइड्रोपावर कम्पनीको २६ करोड १३ लाख बढी कित्ता सेयर सूचीकृत छ । त्यस्तै, हाइड्रोपावरको कुल बजार पूँजीकरण साढे ८ खर्ब रुपैयाँ रहेको छ ।

हाइड्रोपार कम्पनीहरूको सेयर मूल्यमा समेत निकै चलखेल हुने गरेको छ । वाणिज्य बैंक, विकास बैंक लगायत कम्पनीको तुलनामा हाइड्रोपावर कम्पनीहरूको सेयर संख्या कम हुने भएकाले स्वार्थ समूहहरूले सहजै चलखेल गर्ने गरेका छन् ।

तुलनात्मक रुपमा अन्य क्षेत्रका कम्पनीकोभन्दा हाइड्रोपावर कम्पनीको वित्तीय विवरण कमजोर र लाभांश क्षमता कम हुने गर्छ । तर, बजारमा हुने चलखेलबाट पैसा कमाइने देखेर लगानीकर्ताहरू हाइड्रोपावरको सेयरमा झुम्मिने गरेका छन् ।

चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सूचीकृत ६५ हाइड्रोपावरमध्ये २४ वटा कम्पनी नोक्सानीमा रहेका छन् । त्यस्तै, एकतिहाई कम्पनीले मात्र गत वर्षको नाफाबाट लाभांश दिएका छन् ।

कुन क्षेत्रका कम्पनीको कति छ बजार हिस्सा ?

नेप्सेमा विभन्न १३ क्षेत्रका कम्पनीहरू सूचीकृत छन् । जसमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक, होटल तथा पर्यटन, लगानी, व्यापार, अन्य र म्युचुअल फण्डहरू सूचीकृत छन् ।

जसमा सबैभन्दा धेरै हिस्सा हाइड्रोपारको रहेको छ । हाइड्रोपावरपछि धेरै बजार हिस्सा वाणिज्य बैंकहरूको रहेको छ । नेप्सेका अनुसार सेयर बजारमा वाणिज्य बैंकहरूको बजार हिस्सा १४.७ प्रतिशत रहेको छ ।

पछिल्ले ३ वर्षमै वाणिज्य बैंकको हिस्सा आधाले घटेको छ । वाणिज्य बैंकको संख्या मर्जरका कारण ३१ बाट २१ वटामा झरिसकेका छन् । जसकारण यिनको बजारहिस्सा घट्दै गएको छ । वाणिज्य बैंक संख्या घट्दो क्रममा र हाइड्रोपावरको संख्या थपिँदो क्रममा रहलेकाले वाणिज्य बैंकको वर्चश्व घट्दै गएको हो ।

त्यस्तै, सेयर बजारमा तेस्रो धेरै हिस्सा लघुवित्त कम्पनीहरूको रहेको छ । लघुवित्त कम्पनीहरूले कुल बजारहिस्साको १२.१ प्रतिशत हिस्सा ओगटेका छन् । नेप्सेमा लघुवित्त कम्पनीहरूको २ करोड ४८ बढी कित्ता सेयर सूचीकृत भएको छ । हाल ५९ वटा लघुवित्त सूचीकृत छन् ।

नेप्सेका अनुसार सेयर बजारमा विकास बैंकको ७.५ प्रतिशत, जीवन बीमा कम्पनीको ४.६ प्रतिशत, निर्जीवन बीमाको ४.१ , फाइनान्स कम्पनीको ७.५ प्रतिशत, उत्पादनमूलक कम्पनीको ७.५ प्रतिशत हिस्सा रहेको छ । हाल नेप्सेमा ११ जीवनबीमा, १६ निर्जीवन बीमा, १६ फाइनान्स कम्पनी र १६ वटा विकास बैंक सूचीकृत छन् ।

सेयर बजारमा म्युचुअल फण्डको हिस्सा सबैभन्दा ०.३ प्रतिशत मात्र रहेको छ । त्यस्तै, व्यापार क्षेत्रका कम्पनीको ०.५ प्रतिशत, होटलको १.१ प्रतिशत, लगानी समूहको ४.१ प्रतिशत हिस्सा रहेको छ ।

 

 

 

 

 

काठमाडौं महानगरले उठायो ८ महिनामा साढे ४ अर्ब राजस्व Read Previous

काठमाडौं महानगरले उठायो ८ महिनामा साढे ४ अर्ब राजस्व

मानुषी र श्रृजनशील लघुवित्त मर्ज हुने, स्वाप रेसियो कति ? Read Next

मानुषी र श्रृजनशील लघुवित्त मर्ज हुने, स्वाप रेसियो कति ?