काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउन-फागुन)मा १५ जलविद्युत् आयोजनाले सर्वेक्षण अनुमति पाएका छन् । विद्युत् विकास विभागका अनुसार १ हजार ४२० मेगावाट विद्युत् उत्पादन क्षमता भएका आयोजनाले अध्ययन अनुमति पाएका हुन् ।
यस अवधिमा १९ आयोजनाको सर्वेक्षण अनुमतिका विभिन्न हाइड्रोपावर कम्पनीले आवेदन दिएका छन् । सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका आयोजनाहरूको विद्युत् उत्पादन क्षमता ११३७ मेगावाट छ ।
हाइड्रो कम्पनीहरूले आयोजना निर्माणको लागि सुरूमा विभागमा सर्वेक्षण अनुमति दिने गरेका छन् । विभागबाट सर्वेक्षण अनुमति पाएपछि निर्माणका लागि आवेदन दिने र सो प्रक्रिया पूरा गरेपछि लगानी जुटाएर निर्माण अघि बढाइन्छ । तर, आयोजना निर्माणका लागि कम्पनी खडा गरेर लाइसेन्स लिएर बस्ने प्रवृत्ति छ ।
सर्वेक्षणको अनुमति लिएपछि लामो समयसम्म आयोजना अघि नबढाउँदा विद्युत् उत्पादन बढ्न सकेको छैन । अर्कोतर्फ निजी क्षेत्रबाट निर्माण गरिने आयोजनाको विद्युत् खरिदका लागि सरकारले पीपीए खुला नगर्दा निर्माण लागत नउठ्ने भन्दै निजी क्षेत्रले आयोजना अघि बढाउन आनाकानी गरेको देखिन्छ ।
सर्वेक्षण अनुमति पाउनेमा सबैभन्दा ठूलो आयोजना ७५० मेगावाटको पश्चिम सेती रहेको छ । जलाशयुक्त यस आयोजनाको निर्माणको जिम्मा लगानी बोर्ड नेपालले भारतीय कम्पनी एनएचपीसीलाई दिएको छ ।
यस आयोजनालाई पश्चिमसेती र सेती नदी ६ दुई भागमा विभाजन गरेर निर्माण गर्ने सम्झौता लिगानी बोर्ड र सो कम्पनी बीच गत भदौमा भएको थियो । पश्चिम नेपालको डोटी, बझाङ, बाजुरा लगायत जिल्लामा निर्माण हुने आयोजनाको कम्पनीले गत कात्तिकमा सर्वेक्षण अनुमति पाएको हो ।
३२७ मेगावाटको माथिल्लो मस्र्याङदी २ लाई विभागले गत कात्तिकमा सर्वेक्षण अनुमति दिएको छ । मस्र्याङदी नदीमा सो आयोजनाको निर्माणका लागि हिमताल हाइड्रोपावरले आवेदन दिएको थियो ।
यसैगरी ९९.८ मेगावाट विद्युत् उत्पादन क्षमताको जलविद्युत् आयोजना, ६० मेगावाटको अपर सानि भेरी, ५० मेगावाटको मस्र्याङदी ७, ४० मेगावाटको पेलम खोला, २२ मेगावाटको लुङग्री खोला, १८ मेगावाटको लोअर बडीगाड आयोजनाले सर्वेक्षण अनुमति पाएका छन् ।
सबैभन्दा सानो २ मेगावाटको चेपेखोला, ४.९९ मेगावाटको लापा खोला ५ मेगावाटको माथिल्लो मायाखोला, ८/८ मेगावाटको लोअर इग्वाखोला, त्रिशुली खोला जलविद्युत् आयोजनालाई विद्युत् विकास विभागले अध्ययनको लागि लाइसेन्स दिएको छ ।
यी आयोजनाको सर्वेक्षण अनुमतिका लागि आवेदन
विभागका अनुसार जलविद्युत् आयोजना अध्ययन अनुमतिका लागि आवेदन दिनेमा सबैभन्दा ठूलो क्षमताको स्यार्पु लेक स्टोरेज हाइड्र्रोपावर प्रजेक्ट रहेको छ । यस स्यार्पु हाइड्रो आयोजनाको विद्युत् उत्पादन क्षमता ३३४ मेगावाट रहेको छ ।
यो आयोजनाको अध्ययन नेपाल विद्युत् प्राधिकरणले गर्ने भएको हो । ३०० मेगावाट क्षमताको भेरी नदी ४ स्टोरेज आयोजनाले सर्वेक्षण अनुमति मागेको छ । भेरी नदीमा बन्ने सो आयोजनाको अध्ययन स्प्रिङ हाइड्रो इनर्जीले गर्ने भएको छ । २०० मेगावाट क्षमताको अपर बुढीगण्डकी आयोजनाले पनि सर्वेक्षण अनुमतिका लागि आवेदन दिएको छ । बुढीगण्डकी खोलामा बन्ने सो आयोजनाको अध्ययन रोड नेपाल कम्पनीले गर्ने भएको छ ।
यसैगरी, हुम्लाको सिमिकोट चुवाखोलामा अध्ययन गरिने ९० मेगावाट क्षमताको सुपर चुवाखोला, बझाङको सेती नदीमा ६९ मेगावाट क्षमताको माकाली सेती हाइड्रोपावर, ३० मेगावाटको उत्तर गंगाखोला, २६ मेगावाटको त्रिशुली गल्छी हाइड्रोपावरले विभागमा सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन् ।
२० मेगावाटको तातोपानी सेती हाइड्रोपावर, ९.९ बलेफि खोला, ९.६ को अपर इखुवा खोला, ९.५ तल्लो लिखु लोला, झम्सा खोला स्ट्रोरेज ५, अपर तमोर नदी ५, मिमिबन खोला, अपर लोती कर्णाली, त्रिवेणी भेरी, तल्लो उत्तर गंगा, तरप खोला र सुपर सभा खोला ४/४ मेगावाट बढी विद्युत् उत्पादन क्षमताका आयोजनाहरूले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन् ।