काठमाडौं । कच्चा तेलको भाउमा लगातार गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा गत जनवरी यता लगातार घट्न थालेको कच्चा तेलको भाउ यससाता ह्वात्तै घटेको हो ।
विश्वभर देखिएको आर्थिक मन्दीका कारण लगातार घटिरहेको कच्चा तेलको भाउ गत साता अमेरिकाका दुई ठूला बैंक बन्द भएपछि झनै घटेको हो ।
मार्चको दुई सातामै कच्चा तेलको भाउ प्रतिब्यारेल १५ डलरले घटेको छ । मार्च ३ तारिख प्रतिब्यारेल ८८ डलर रहेको विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको मूल्य यससाता घटेर ७२ डलरसम्म आएको थियो । यद्यपि, आज केही बढेर ७४ डलर पुगेको छ ।
कच्चा तेलको भाउ डेढ वर्ष यताकै सस्तो भएको हो । यसअघि सन् २०२१ को सेम्टेम्बर महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल ७२ डलर थियो । त्यसयता लगातार बढ्न थालेको भाउ सन् २०२२ को फेब्रुअरीमा रुस युक्रेन युद्ध सुरुभएसँगै प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो ।
यसैगरी, बुधबार ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ६८.३० डलरमा आएको छ । दुई साताअघि यसको भाउ प्रतिब्यारेल ७७ डलर थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाललाई पनि प्रत्यक्ष फाइदा हुन्छ । नेपालले अहिले सिधै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगरी भारतसँग खरिद गरेर ल्याउने गरेको छ । विश्व बजारमा कच्चा तेलको भाउ घट्दा भारतमा पनि घट्ने हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्छ ।