काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यससाता लगातार ५१ अंकको गिरावटपछि मंगलबार झन्डै २ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो ।
बुधबार नेप्से १४.४४ अंकले घटेर १९३८.६२ बिन्दुमा आइपुगेको छ । यसदिन २५३ कम्पनीको १ अर्ब २० करोड रुपैयाँ बढीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.६८ प्रतिशतले घटेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माइ हाइड्राेपावर ७ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।