काठमाडौं । चालु आर्थिक वर्षको पुसदेखि उकालो लागेको घरजग्गा कारोबारमा ब्रेक लागेको छ । सरकारले गत जेठमा भूउपयोग नियमावली ल्याए यता ओरालो लागेको घरजग्गा पुसदेखि बढ्न थाले पनि फेरि फागुनमा भने गिरावट आएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको फागुनमा ४० हजार ७३४ घरजग्गा किनबेच (लिखत पारित) भएको छ । फागुनमा माघको तुलनामा १७३४ कम हो । माघमा चालु वर्षकै धेरै ४१ हजार घरजग्गा किनबेच भएको थियो ।
चालु आवको असोजमा सबैभन्दा कम २५ हजार ७८९ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ । त्यस्तै, कात्तिकमा २७ हजार ९३९, साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२०, मंसिरमा र पुसमा ३८ हजार ८७१ वटा घरजग्गा किनबेच भएको छ ।
पुसदेखि देशका मुख्य सहरी क्षेत्रमा कित्ताकाट खुलेसँगै बढ्न थालेको घरजग्गा किनबेच फागुनमा सुस्ताएको हो । साथै, अर्थतन्त्रमा आयको संकुचन, महँगो ब्याजदर, घरजग्गा र्जामा गरिएको कडाइ यथावत लगायत कारणले कारोबार घटेको हो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गए पनि कर्जाको ब्याजदर नघट्दा बैंकबाट ऋण लिएर घरजग्गा किनबेच गर्ने अवस्था छैन । त्यस्तै, नेपाल राष्ट्र बैंकले घरेको कडाइ यथावत रहेकाले पनि बैंकहरुले कर्जा लगानीमा चासो देखाएका छैनन् ।
तराईका जिल्लामा धेरै किनबेच
विगतमा जस्तै फागुनमा पनि तराईका जिल्लाहरुमै धेरै घरजग्गा किनबेच भएको छ । विभागका अनुसार फागुनमा सबैभन्दा बढी नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार ६०९ वटा घरजग्गाको लिखत पास भएको छ ।
त्यसैगरी, फागुनमा इनरुवा मालपोतबाट १ हजार ५४७, जनकपुरधामबाट १ हजार ५३३, बेलबारीबाट १ हजार २७५, राजविराजबाट १ हजार १९२, भक्तपुरमा १ हजार ११३ वटा घरजग्गा किनबेच भएको छ ।
त्यस्तै, तौलिहवा मालपोतबाट १ हजार ८७, भद्रपुरबाट १ हजार ७७, लगनखेलबाट १ हजार ३१ र विराटनगर मालपोतबाट १ हजार २७ वटा लिखत पारित भएको विभागको तथ्यांक छ ।त्यस्तै, काठमाडौंको कलंकीबाट ७०१, साँखुबाट ४८४, चाबहिलबाट ४३४, मनमैजुबाट २७४, डिल्लीबजारबाट १९०, टोखाबाट ११३ घरजग्गा किनबेच भएका छन् ।
राजस्व पनि घट्यो
फागुनमा घरजग्गा किनबेच घटेसँगै पनि राजस्व संकलन पनि घटेको छ । फागुनमा घरजग्गा कारोबार बापत सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो माघकोभन्दा १९ करोड कम हो । घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।
चालु वर्षको ८ महिना (फागुनसम्म) घरजग्गा कारोबारबाट सरकारको कुल साढे २५ अर्ब राजस्व संकलन गरेको छ । जसमा पुसमा ३ अर्ब ७१ करोड रुपैयाँ, २ अर्ब ६५ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब, असोजमा २ अर्ब ५६ करोड, भदौमा ३ अर्ब ५६ करोड र साउनमा २ अर्ब ७४ करोड संकलन भएको विभागले जनाएको छ ।