महासंघको चुनावका लागि अन्जन श्रेष्ठको टिम तयार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले आफ्नो प्यानल तयार पारेका छन् ।

हाल महासंघको वस्तुगत उपाध्यक्ष रहेका श्रेष्ठले मंगलबार पत्रकार सम्मेलन गर्दै अनौपचारिक रुपमा आफ्नो प्यानल घोषणा गरेका हुन् ।

श्रेष्ठको प्यानलबाट जिल्लागत उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवारी दिने उनले जानकारी दिए ।

यद्यपि, आफ्नो नेतृत्वमा चुनाव लड्ने पूर्ण टिम भने केही दिनमा चुनावी घोषणापत्र सहित सार्वजनिक गर्ने उनले बताए ।

यही चैत २८ र २९ मा हुने महासंघको साधरण सभा निर्वाचनले वरिष्ठ उपाध्यक्षसहित सम्पूर्ण पदाधिकारी चयन गर्नेछ । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । सो अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठ विगत ३ दशकदेखि उद्योग व्यवसायमा संलग्न छन् भने २० वर्षदेखि महासंघमा आबद्ध छन् । उनीसँग महासंघमा रहने विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषदमा बसेर काम गरेको अनुभव छ ।

श्रेष्ठ लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक हुन् । लक्ष्मी ग्रुप नेपालको ठूलोमध्येको एक व्यावसायिक घराना हो। उनको अटोमोबाइल, खाद्यान्न, डण्डी, डेरी, उत्पादनमूलक, बैंक तथा वित्तीय संस्था लगायत क्षेत्रमा लगानी छ ।

श्रेष्ठको लगानी रहेका मुख्य उद्योगहरू सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी, लक्ष्मी ट्रेडिङ, जैमा इन्टरकन्टिनेन्टल लगायत हुन् । आगामी दिनमा पर्यटन क्षेत्रमा पनि लगानी गर्ने उनको तयारी छ ।

 

लघुवित्तको निष्क्रिय कर्जा झन्डै १९ अर्ब पुग्यो, ६ महिनामै ८३ प्रतिशतले बढ्यो Read Previous

लघुवित्तको निष्क्रिय कर्जा झन्डै १९ अर्ब पुग्यो, ६ महिनामै ८३ प्रतिशतले बढ्यो

सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब धेरै, पूँजीगत खर्च २२ प्रतिशत मात्रै Read Next

सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब धेरै, पूँजीगत खर्च २२ प्रतिशत मात्रै