सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब धेरै, पूँजीगत खर्च २२ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा सरकारको बजेट घाटा रू १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने रू छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको राजस्व सङ्कलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ । यो अवधिमा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत छ भने बजेट खर्च ४३.४४ प्रतिशत छ ।

चालु आर्थिक वर्षका लागि सरकारले रू १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । तर, लक्ष्यअनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार १४ प्रतिशत अर्थात् रू २ खर्ब ४४ अर्बले घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ ।

सुरुआती विनियोजित बजेटको तुलनामा ८ महिनाको बजेट खर्च ४३.४४ प्रतिशत मात्रै छ । अर्थात् फागुन मसान्तसम्म सरकारले कूल रू सात खर्ब ७९ अर्ब २३ करोड बजेट खर्च गरेको छ ।

यस अवधिमा सरकारको चालु खर्च ५१.४६, पूँजीगत खर्च २२.१५ र वित्तीय व्यवस्थातर्फको खर्च ३७.४१ प्रतिशत छ । चालुगत शीर्षकमा रू ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर वार्षिक विनियोजन रहेकोमा हालसम्म रू छ खर्ब ८ अर्ब ८४ करोड ४५ लाख बराबर छ ।

त्यस्तै, पूँजीगत शीर्षकमा रू ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख वार्षिक विनियोजन रहेकोमा २२.१५ प्रतिशत अर्थात् रू ८४ अर्ब २५ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ रू दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट छुट्याइएकोमा फागुन मसान्तसम्म रू ८६ अर्ब १२ करोड ९६ लाख खर्च भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्क हेर्दा ८ महिना अवधिमा पूँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी छ ।

फागुन मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि सरकारले रू १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म रू छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै असुली भएको छ । जसमध्ये आन्तरिक राजस्व सङ्कलन ४१.५३ प्रतिशत अर्थात् रू पाँच खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रहेको छ ।

यसवर्ष रू ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक सहायता लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म ८.६६ प्रतिशत अर्थात् रू ४ अर्ब ८० करोड २० लाख बराबर मात्रै वैदेशिक सहायता भित्रिएको छ ।

महासंघको चुनावका लागि अन्जन श्रेष्ठको टिम तयार Read Previous

महासंघको चुनावका लागि अन्जन श्रेष्ठको टिम तयार

१ हजार साना सडक निर्माण गर्दै कर्णाली प्रदेश Read Next

१ हजार साना सडक निर्माण गर्दै कर्णाली प्रदेश