काठमाडौं । एक साताको अवधिमै ३ वटा बैंक बन्द भएपछि अहिले अमेरिकी वित्तीय क्षेत्र नै तरंगित भएको छ । नियामक निकाय फेडरल रिजर्भ, अमेरिकी ट्रेजरी, र फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी)ले एक साताको अवधिमै डुबेका दुई बैंक बन्द गराएका हुन् ।
वित्तीय स्रोतको संकट, चर्को ब्याजदर, कर्जा रिकभरीमा समस्या आएपछि गत बिहीबार सिल्भरगेट बैंकले जोखिमपूर्ण अवस्थामा रहेको बताएको छ भने शुक्रबार अमेरिकको १६ औं ठूलो सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनमै आइतबार सिग्नेचर बैंक बन्द भएका छन् ।
अमेरिकी बैंकिङ इहिासमा आएको यो दोस्रो र तेस्रो ठूलो क्राइसिस हो । यसअघि सन २००८ मा ३०७ बिलियन सम्पत्ति भएको वासिंटन म्युचुअल बैंक बन्द भएको थियो । शुक्रबार बन्द भएको सिलिकन भ्यालीको कुल सम्पत्ति २०९ बिलियन डलर र कर्जा १८८ बिलियन रहेको छ भने सिग्नेचरको कुल सम्पत्ति ११०.३६ बिलियन अमेरिकी डलर र कुल डिपोजिट ८८.६ बिलियन डलर छ ।
मूल्यवृद्धि नियन्त्रण गर्न केन्द्रिय बैंकले लिएको नीतिले ब्याजदर वृद्धि पछिल्लो चार दशकयताकै उच्च पुगेको छ । नेपालको वार्षिक बजेटभन्दा दशौं गुणा ठूलो बिजनेश भएका बैंकहरू टाट पल्टिएपछि निक्षेपकर्ताको लगानी जोखिममा परेको छ भने अर्थतन्त्रलाई समेत धक्का पुग्ने प्रक्षेपण गर्न थालिएको छ ।
बलियो अर्थतन्त्र भएको देशमा देखिएको यस वित्तीय संकटले नेपाललाई पनि सचेत गराएको छ । केही दिनअघि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको ‘नेप्लिज बैंकिङ सेक्टर ‘पर्फमेन्स अपडेट एण्ड आउटलुक’ अध्ययनले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा आगामी दिनमा अझै बढ्ने देखाएको थियो ।
अध्ययनले तरलता अभावका कारण बैंकको ऋण दिने क्षमतामा आएको कमी, कर्जाको ब्याजदरमा भएको वृद्धि, ऋणीको ऋण तिर्न सक्ने क्षमतामा आएको ह्रास लगायत कारणले बैंकको खराब कर्जा वृद्धि भएको उल्लेख छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा दोब्बरले बढेको छ । यो वित्तीय संस्थाले गत वर्ष लगानी गरेको रकम रकमको हिस्सा हो । आगामी दिनमा भने बैंकिङ क्षेत्रको खराब कर्जा ५ प्रतिशत माथि पुग्ने प्रक्षेपण गर्न थालिएको छ ।
पूर्व बैंकर परशुराम क्षेत्री कुँवर नेपालका बैंकहरू वित्तीय संकटबाट सेफ जोनमा रहेको बताउँछन् । ‘अमेरिकाको वित्तीय क्षेत्रमा देखिएको संकट र हाम्रो वित्तीय संस्थाको अवस्था तुलना गर्न मिल्दैन,’ उनले भने, ‘तर यस्तो प्रकृतिका बैंकहरूले नेपाललाई मर्जरको सन्दर्भमा भने सन्देश दिएको छ । हामीले बैंक मर्जर हुँदा फेलर हुने शिक्षा लिनुपर्छ ।’
नेपालको सन्दर्भमा कर्जा लगानी, खराब कर्जा पूँजीकोषको स्थिति राम्रो भएकाले डराउनुपर्ने स्थिति नभएको उनले बताए । पछिल्लो समय वित्तीय संस्थाविरुद्ध भइरहेका गतिविधिले भने समस्या ल्याएको बैंकरहरू बताउँछन् ।
स्रोत अभाव, लगानीमा समस्या
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभावका कारण संस्थाहरूले कर्जा लगानी गर्न सकेका छैनन् । महंगो ब्याज र कमजोर क्रयशक्ति हुँदा ऋणीले कर्जा माग गरेका छैनन् । जसको कारण संस्थाहरू व्यवसायीक संकटतर्फ गएका छन् ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म संस्थाहरूले ४८ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस वर्षको ८ महिनामा डेढ खर्ब पनि विस्तार गर्न नसकेको तथ्यांकले देखाउँछ ।
संस्थाहरूमा निक्षेप पनि बढ्न सकेको छैन । सरकारले विकास खर्च गर्न नसक्दा राज्यको ढुकुटीमा स्रोत बसेको छ । जसको कारण एकातिर वित्तीय प्रणालीमै समस्या ल्याएको छ भने अर्कोतर्फ रुग्ण विकासे संरचनाले पूर्णता पाउन सकेको छैनन् ।
राष्ट्र बैंकले यस वर्ष १२.६ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो । तर, सो लक्ष्य भेट्टाउन नसक्ने अवस्था आएको छ । प्रणालीमा स्रोत हुँदा आक्रामक कर्जा लगानीले विनिमय संचितिमा चाप, व्यापार घाटा वृद्धि हुने र स्रोत नहुँदा आर्थिक वृद्धि नै प्रभावित हुने वित्तीय क्षेत्रको संरचना छ । जसको असर उत्पादनमुलक क्षेत्रमा लगानी, रोजगारी सिर्जना र आर्थिक वृद्धि समेत देखिएको छ ।
वित्तीय संस्थाको लागत वृद्धि
प्रणालीमा स्रोत जुटाउनै वित्तीय संस्थाहरूलाई हम्मेहम्मे परेको छ । गत वर्ष संस्थाहरूले निक्षेपकै ब्याजदर १५ प्रतिशतसम्म दिए । वित्तीय संस्थामा मुद्धती निक्षेपकै हिस्सा ६६ प्रतिशत छ ।
निक्षेपमा उच्च ब्याज दिँदा बैंकको लागत एकाएक उकालो लागेको छ । गत वर्ष एकल अंकमा रहेको आधारदर नै हाल १२ प्रतिशतसम्म पुगेको छ । आधारदर उच्च हुँदा कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । जसको कारण महंगो ब्याजमा ऋण लिएर सस्तोमा लगानी गर्नुपर्ने अवस्था आएपछि साना वित्तीय संस्थाहरू संकटमा छन् ।
हाल देशभर ६३ वटा लघुवित्त सञ्चालनमा छन् । ति संस्थाको कारोबार करिब ३ खर्ब रुपैयाँ बढीको छ । व्यवसायीक संकटमा रहेका संस्थाहरूलाई राष्ट्र बैंकले मर्जर गराउन प्रोत्साहन गराइरहेको छ । संस्थाहरूको वित्तीय सूचकमा सामान्य समस्या देखिए पनि केही तलमाथि हुनु स्वभाविक भएको वित्तीय जानकारहरू बताउँछन् ।
प्रणालीविरुद्ध चुनौती
बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीहरूले एक वर्षदेखि आन्दोलन गरिहरेका छन् । संगठित रुपमा भइरहेका आन्दोलनले वित्तीय प्रणालीलाई नै चुनौती दिएको छ ।
कर्जा लिएको रकम मिनाहा गर्नुपर्ने मागसहित एक समूह बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमसो दल्नेदेखि आक्रमण गर्नसम्म उत्रिएको छ । अर्कोतर्फ ब्याजदर घटाउन माग गर्दै निजी क्षेत्रका व्यापारीहरू सडकमा प्रदर्शन गरिरहेका छन् ।
जसले वित्तीय क्षेत्रमा समस्या ल्याइहेको विज्ञहरूले बताइरहेका छन् । ‘ब्याजदरविरुद्ध सडकमा आन्दोलन भइरहेका छन्, त्यसले विजनेश इन्भाइरोमेन्टलाई सहयोग गर्दैन्,’ क्षेत्री भन्छन्, ‘म अहिले बैंकमा काम गरिरहेको हुन्थे र सडकमा यसरी नै आन्दोलन भइरहेको हुन्थ्यो भने यसले एक प्रकारको दिमागमा किन कर्जा दिने भन्ने आशंका जन्माइ दिन्थ्यो ।’
वित्तीय संस्थाविरुद्ध व्यापारीको आन्दोलनले प्रणालीमा थप समस्या ल्याउने उनले बताए । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा वित्तीय संस्थाविरुद्ध भइरहेको आन्दोलनलाई बेलैमा सम्बोधन नगरे प्रणाली नै संकटतर्फ जाने बताउँछन् ।
‘वित्तीय संस्थाविरुद्ध भइरहेको यस्तो गतिविधिलाई सम्बन्धित निकायले बेलैमा सल्टायाउनु पर्छ । सम्बोधन गर्न सकिएन भने प्रणालीमै संकट ल्याउँछ ।’