अमेरिकाको जस्तै नेपालमा पनि बैंक ‘टाट’ पल्टिने जोखिम छ ?

काठमाडौं । एक साताको अवधिमै ३ वटा बैंक बन्द भएपछि अहिले अमेरिकी वित्तीय क्षेत्र नै तरंगित भएको छ । नियामक निकाय फेडरल रिजर्भ, अमेरिकी ट्रेजरी, र फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी)ले एक साताको अवधिमै डुबेका दुई बैंक बन्द गराएका हुन् ।

वित्तीय स्रोतको संकट, चर्को ब्याजदर, कर्जा रिकभरीमा समस्या आएपछि गत बिहीबार सिल्भरगेट बैंकले जोखिमपूर्ण अवस्थामा रहेको बताएको छ भने  शुक्रबार अमेरिकको १६ औं ठूलो सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनमै आइतबार सिग्नेचर बैंक बन्द भएका छन् ।

अमेरिकी बैंकिङ इहिासमा आएको यो दोस्रो र तेस्रो ठूलो क्राइसिस हो । यसअघि सन २००८ मा ३०७ बिलियन सम्पत्ति भएको वासिंटन म्युचुअल बैंक बन्द भएको थियो । शुक्रबार बन्द भएको सिलिकन भ्यालीको कुल सम्पत्ति २०९ बिलियन डलर र कर्जा १८८ बिलियन रहेको छ भने सिग्नेचरको कुल सम्पत्ति ११०.३६ बिलियन अमेरिकी डलर र कुल डिपोजिट ८८.६ बिलियन डलर छ ।

मूल्यवृद्धि नियन्त्रण गर्न केन्द्रिय बैंकले लिएको नीतिले ब्याजदर वृद्धि पछिल्लो चार दशकयताकै उच्च पुगेको छ । नेपालको वार्षिक बजेटभन्दा दशौं गुणा ठूलो बिजनेश भएका बैंकहरू टाट पल्टिएपछि निक्षेपकर्ताको लगानी जोखिममा परेको छ भने अर्थतन्त्रलाई समेत धक्का पुग्ने प्रक्षेपण गर्न थालिएको छ ।

बलियो अर्थतन्त्र भएको देशमा देखिएको यस वित्तीय संकटले नेपाललाई पनि सचेत गराएको छ । केही दिनअघि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको ‘नेप्लिज बैंकिङ सेक्टर ‘पर्फमेन्स अपडेट एण्ड आउटलुक’ अध्ययनले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा आगामी दिनमा अझै बढ्ने देखाएको थियो ।

अध्ययनले तरलता अभावका कारण बैंकको ऋण दिने क्षमतामा आएको कमी, कर्जाको ब्याजदरमा भएको वृद्धि, ऋणीको ऋण तिर्न सक्ने क्षमतामा आएको ह्रास लगायत कारणले बैंकको खराब कर्जा वृद्धि भएको उल्लेख छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा दोब्बरले बढेको छ । यो वित्तीय संस्थाले गत वर्ष लगानी गरेको रकम रकमको हिस्सा हो । आगामी दिनमा भने बैंकिङ क्षेत्रको खराब कर्जा ५ प्रतिशत माथि पुग्ने प्रक्षेपण गर्न थालिएको छ ।

पूर्व बैंकर परशुराम क्षेत्री कुँवर नेपालका बैंकहरू वित्तीय संकटबाट सेफ जोनमा रहेको बताउँछन् । ‘अमेरिकाको वित्तीय क्षेत्रमा देखिएको संकट र हाम्रो वित्तीय संस्थाको अवस्था तुलना गर्न मिल्दैन,’ उनले भने, ‘तर यस्तो प्रकृतिका बैंकहरूले नेपाललाई मर्जरको सन्दर्भमा भने सन्देश दिएको छ । हामीले बैंक मर्जर हुँदा फेलर हुने शिक्षा लिनुपर्छ ।’

नेपालको सन्दर्भमा कर्जा लगानी, खराब कर्जा पूँजीकोषको स्थिति राम्रो भएकाले डराउनुपर्ने स्थिति नभएको उनले बताए । पछिल्लो समय वित्तीय संस्थाविरुद्ध भइरहेका गतिविधिले भने समस्या ल्याएको बैंकरहरू बताउँछन् ।

स्रोत अभाव, लगानीमा समस्या

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभावका कारण संस्थाहरूले कर्जा लगानी गर्न सकेका छैनन् । महंगो ब्याज र कमजोर क्रयशक्ति हुँदा ऋणीले कर्जा माग गरेका छैनन् । जसको कारण संस्थाहरू व्यवसायीक संकटतर्फ गएका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म संस्थाहरूले ४८ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस वर्षको ८ महिनामा डेढ खर्ब पनि विस्तार गर्न नसकेको तथ्यांकले देखाउँछ ।

संस्थाहरूमा निक्षेप पनि बढ्न सकेको छैन । सरकारले विकास खर्च गर्न नसक्दा राज्यको ढुकुटीमा स्रोत बसेको छ । जसको कारण एकातिर वित्तीय प्रणालीमै समस्या ल्याएको छ भने अर्कोतर्फ रुग्ण विकासे संरचनाले पूर्णता पाउन सकेको छैनन् ।

राष्ट्र बैंकले यस वर्ष १२.६ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो । तर, सो लक्ष्य भेट्टाउन नसक्ने अवस्था आएको छ । प्रणालीमा स्रोत हुँदा आक्रामक कर्जा लगानीले विनिमय संचितिमा चाप, व्यापार घाटा वृद्धि हुने र स्रोत नहुँदा आर्थिक वृद्धि नै प्रभावित हुने वित्तीय क्षेत्रको संरचना छ । जसको असर उत्पादनमुलक क्षेत्रमा लगानी, रोजगारी सिर्जना र आर्थिक वृद्धि समेत देखिएको छ ।

वित्तीय संस्थाको लागत वृद्धि

प्रणालीमा स्रोत जुटाउनै वित्तीय संस्थाहरूलाई हम्मेहम्मे परेको छ । गत वर्ष संस्थाहरूले निक्षेपकै ब्याजदर १५ प्रतिशतसम्म दिए । वित्तीय संस्थामा मुद्धती निक्षेपकै हिस्सा ६६ प्रतिशत छ ।

निक्षेपमा उच्च ब्याज दिँदा बैंकको लागत एकाएक उकालो लागेको छ । गत वर्ष एकल अंकमा रहेको आधारदर नै हाल १२ प्रतिशतसम्म पुगेको छ । आधारदर उच्च हुँदा कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । जसको कारण महंगो ब्याजमा ऋण लिएर सस्तोमा लगानी गर्नुपर्ने अवस्था आएपछि साना वित्तीय संस्थाहरू संकटमा छन् ।

हाल देशभर ६३ वटा लघुवित्त सञ्चालनमा छन् । ति संस्थाको कारोबार करिब ३ खर्ब रुपैयाँ बढीको छ । व्यवसायीक संकटमा रहेका संस्थाहरूलाई राष्ट्र बैंकले मर्जर गराउन प्रोत्साहन गराइरहेको छ । संस्थाहरूको वित्तीय सूचकमा सामान्य समस्या देखिए पनि केही तलमाथि हुनु स्वभाविक भएको वित्तीय जानकारहरू बताउँछन् ।

प्रणालीविरुद्ध चुनौती

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीहरूले एक वर्षदेखि आन्दोलन गरिहरेका छन् । संगठित रुपमा भइरहेका आन्दोलनले वित्तीय प्रणालीलाई नै चुनौती दिएको छ ।

कर्जा लिएको रकम मिनाहा गर्नुपर्ने मागसहित एक समूह बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमसो दल्नेदेखि आक्रमण गर्नसम्म उत्रिएको छ । अर्कोतर्फ ब्याजदर घटाउन माग गर्दै निजी क्षेत्रका व्यापारीहरू सडकमा प्रदर्शन गरिरहेका छन् ।

जसले वित्तीय क्षेत्रमा समस्या ल्याइहेको विज्ञहरूले बताइरहेका छन् । ‘ब्याजदरविरुद्ध सडकमा आन्दोलन भइरहेका छन्, त्यसले विजनेश इन्भाइरोमेन्टलाई सहयोग गर्दैन्,’ क्षेत्री भन्छन्, ‘म अहिले बैंकमा काम गरिरहेको हुन्थे र सडकमा यसरी नै आन्दोलन भइरहेको हुन्थ्यो भने यसले एक प्रकारको दिमागमा किन कर्जा दिने भन्ने आशंका जन्माइ दिन्थ्यो ।’

वित्तीय संस्थाविरुद्ध व्यापारीको आन्दोलनले प्रणालीमा थप समस्या ल्याउने उनले बताए । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा वित्तीय संस्थाविरुद्ध भइरहेको आन्दोलनलाई बेलैमा सम्बोधन नगरे प्रणाली नै संकटतर्फ जाने बताउँछन् ।

‘वित्तीय संस्थाविरुद्ध भइरहेको यस्तो गतिविधिलाई सम्बन्धित निकायले बेलैमा सल्टायाउनु पर्छ । सम्बोधन गर्न सकिएन भने प्रणालीमै संकट ल्याउँछ ।’

चिराइतोको भाउ अलैँचीकोभन्दा महँगो, यसवर्ष १० हजार बढ्यो Read Previous

चिराइतोको भाउ अलैँचीकोभन्दा महँगो, यसवर्ष १० हजार बढ्यो

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा Read Next

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा