काठमाडौं । तरलता अभाव र पूँजी संकटले विश्वका जुनसुकै बैंक जति बेला पनि टाट पल्टिन सक्छन् भन्ने उदाहरण बनेको छ अमेरिकी एउटा बैंक ।
विश्वभर आर्थिक मन्दी छाइरहेकै बेला अमेरिकाकै १६ औं ठूलो बैंक डुबेपछि यतिबेला विश्व बैंकिङ क्षेत्र नै तरंगित बनेको छ । चार दशक लामो इतिहास भएको अमेरिकाको १६ औं ठूलो सिलिकन भ्याली बैंक (एसभीबी) टाट पल्टिएर बन्द भएको छ ।
सन् १९८३ मा स्थापन भएको उक्त बैंक डुबेपछि अमेरिकी नियामकले डिपोजिटहरू नियन्त्रणमा लिएको छ । अमेरिकी इतिहासमै वित्तीय संस्था धराशायी भएको यो दोस्रो ठूलो घटना हो । यसअघि सन् २००८ को वित्तीय संकटपछि वाशिंगटन म्युचुअल फण्ड असफल भएको थियो ।
पछिल्लो समय बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा समेत फिर्ता गर्न सकेको थिएन । टाट पल्टिएको बैंकमा सर्वसाधरणको १ खर्ब ७५ अर्ब अमेरकी डलर (करिब २२७ खर्ब नेपाली रुपैयाँ निक्षेप थियो । यो नेपालको कुल जीपीभन्दा झन्डै साढे ४ गुण धेरै हो । यो बैंकले २ खर्ब ९ अर्ब अमेरिकी डलर ( करिब २७२ खर्ब) नेपाली रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।
बैंक डुबेसँगै हजारौं निक्ष्ोपकर्ताको खर्बौं रकम ठूलो रकम पनि डुबेको छ । यद्यपि, बैंक डुबे पनि निक्षेपकर्ताले २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप भने फिर्ता पाउने छन् । अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी)ले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बीमा गरेको हुन्छ । सो अनुसार निक्षेपकर्ताले साढे २ लाख डलरसम्म बचत फिर्ता पाउनेछन् । सोभन्दा बढी निक्षेप भएका बचतकर्ताको रकम भने डुबेको छ ।
कसरी टाट पल्टियो यति ठूलो बैंक ?
सन् १९८३ मा स्थापित सिलिकन भ्याली बैंकले मुख्यगरी स्टार्टअप, आइटी, टोक्नोलोजी लगायत क्षेत्रका कम्पनीहरूलाई ऋण दिँदै आएको थियो । यो बैंक अमेरिकी बैंकहरूमध्ये क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा पनि चिनिन्थ्यो ।
पछिल्लो समय विश्व क्रिप्टो मार्केटमा आएको गिरावट, ब्याजदर वृद्धि, तरलता अभाव लगायत कारण नै सिलिकन भ्याली बैंक डुब्नुको मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।
बैंकबाट ऋण लिएर क्रिप्टो करेन्सीमा लगानी गरेकाहरूले समयमै ऋण तिर्न नसक्दा बैंक संकटमा पर्दै गएको थियो । विश्वका विभिन्न देशले क्रिप्टोमा गरेको कडाइका कारण यसको मूल्यमा भारी गिरावट आएको छ । जसकारण बैंकबाट ऋण लिएर लगानी गरेकाहरूले समयमै बैंकको ऋण तिर्न सकनेन् । र, बैंक संकटमा पर्दै गयो ।
त्यस्तै, बैंक डुब्नुको अर्को कारण उच्च ब्याजदर वृद्धि पनि हो । अमेरिकी नियामक फेडरल रिजर्भ बैंकले यस वर्ष ४० वर्ष यताकै उच्च ब्याजदर वृद्धि गरेको छ । ब्याजदर वृद्धिले पनि बैंकलाई संकटतर्फ धकेलोको बताइन्छ ।
जब ब्याज दर शून्य प्रतिशत नजिक थियो, त्यो बेला कम जोखिमयुक्त भन्दै धमाधम ट्रेजरी बिल र बन्डमा लगानी गरेका थिए । तर, महँगी नियन्त्रणका लागि भन्दै फेडले लगातार ब्याजदर बढायो । ब्याजदर बढेपछि ट्रेजरी बिलहरूको मूल्य भारी गिरावट आयो । ट्रेजरी बिलहरूको भाउ ह्वात्तै घटेपछि बैंकले अस्वाभाविक घाटा बेहोर्न पुग्यो ।
ब्याजदरले वृद्धिले स्टार्टअप टेक्नोलोजी कम्पनीहरू प्रभावित भए । ती कम्पनीहरूले थप लगानी जुटाउन नसकेर समस्या पर्न थाले । निरन्तर ब्याजदर वृद्धिले स्टार्टअपहरू कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा समेत पुगे । स्टार्टअप कम्पनीहरूले बैंकमा भएको निक्षेप पनि झिक्न थाले यसले बैंकलाई झनै सकंटमा पुर्यायो । यस्तै, स्टार्टअप कम्पनीहरूको सेयरमा आएको गिरावटले पनि बैंक डुब्नुमा सहयोग पुर्यायो ।
बैंक डुब्नुको अर्को कारण बैंक सुन्निनु अर्थात् अस्वभाविक निक्षेप वृद्धि पनि हो । पछिल्लो ३ वर्षको अवधिमा बैंकको निक्षेप झन्डै ३ गुणाले वृद्धि भएको थियो । बैंकका अधिकांश निक्षेपकर्ताहरू आइटी, स्टार्टअप कम्पनीहरू थिए ।
स्टार्टअप कम्पनीलाई प्राथमिकता दिने, इनोभेसनलाई पबद्र्धन गर्ने जस्ता आकर्षक स्कीमले धेरै कम्पनीहरूले बैंकमा निक्षेप राख्न थालेका थिए । विशेषगरी भेन्चर क्यापिटलहरू बैंकका प्रमुख निक्षेपकर्ता मध्येका थिए।
पछिल्ले ३ वर्षमै बैंकको निक्षेप झन्डै ४ गुणाले बढेको थियो । सन् २०१८ मा ४९ अर्ब डलर रहेको बैंकको निक्षेप २०२० मा दोब्बरले बढेर १०२ अर्ब डलर पुगेको थियो। त्यस्तै, २०२१ मा पनि झन्डै दोब्बरले बढर १८९.२ अर्ब डलर पुग्यो ।
निक्षेप अस्वभाविक रुपमा बढेपछि बैंकले पनि अन्धाधुन्ध कर्जा प्रवाह, ट्रेजरी बिल र बन्डमा लगानी गर्न थाल्यो । ब्याजदर वृद्धिले समयमै कर्जा असुली नहुँदा र ट्रेजरी तथा बन्डको भाउ घट्दा बैंकले ठूलो नोक्सानी व्यहोर्न पुग्यो । जसले टाटै पल्टिने अवस्थाम पुर्यायो ।(एजेन्सीको सहयोगमा)