कसरी टाट पल्टियो ४० वर्ष लामो इतिहास भएको अमेरिकाको १६ औं ठूलो बैंक ?

काठमाडौं । तरलता अभाव र पूँजी संकटले विश्वका जुनसुकै बैंक जति बेला पनि टाट पल्टिन सक्छन् भन्ने उदाहरण बनेको छ अमेरिकी एउटा बैंक ।

विश्वभर आर्थिक मन्दी छाइरहेकै बेला अमेरिकाकै १६ औं ठूलो बैंक डुबेपछि यतिबेला विश्व बैंकिङ क्षेत्र नै तरंगित बनेको छ । चार दशक लामो इतिहास भएको अमेरिकाको १६ औं ठूलो सिलिकन भ्याली बैंक (एसभीबी) टाट पल्टिएर बन्द भएको छ ।

सन् १९८३ मा स्थापन भएको उक्त बैंक डुबेपछि अमेरिकी नियामकले डिपोजिटहरू नियन्त्रणमा लिएको छ । अमेरिकी इतिहासमै वित्तीय संस्था धराशायी भएको यो दोस्रो ठूलो घटना हो । यसअघि सन् २००८ को वित्तीय संकटपछि वाशिंगटन म्युचुअल फण्ड असफल भएको थियो ।

पछिल्लो समय बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा समेत फिर्ता गर्न सकेको थिएन । टाट पल्टिएको बैंकमा सर्वसाधरणको १ खर्ब ७५ अर्ब अमेरकी डलर (करिब २२७ खर्ब नेपाली रुपैयाँ निक्षेप थियो । यो नेपालको कुल जीपीभन्दा झन्डै साढे ४ गुण धेरै हो । यो बैंकले २ खर्ब ९ अर्ब अमेरिकी डलर ( करिब २७२ खर्ब) नेपाली रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।

बैंक डुबेसँगै हजारौं निक्ष्ोपकर्ताको खर्बौं रकम ठूलो रकम पनि डुबेको छ । यद्यपि, बैंक डुबे पनि निक्षेपकर्ताले २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप भने फिर्ता पाउने छन् । अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी)ले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बीमा गरेको हुन्छ । सो अनुसार निक्षेपकर्ताले साढे २ लाख डलरसम्म बचत फिर्ता पाउनेछन् । सोभन्दा बढी निक्षेप भएका बचतकर्ताको रकम भने डुबेको छ ।

कसरी टाट पल्टियो यति ठूलो बैंक ?

सन् १९८३ मा स्थापित सिलिकन भ्याली बैंकले मुख्यगरी स्टार्टअप, आइटी, टोक्नोलोजी लगायत क्षेत्रका कम्पनीहरूलाई ऋण दिँदै आएको थियो । यो बैंक अमेरिकी बैंकहरूमध्ये क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा पनि चिनिन्थ्यो ।

पछिल्लो समय विश्व क्रिप्टो मार्केटमा आएको गिरावट, ब्याजदर वृद्धि, तरलता अभाव लगायत कारण नै सिलिकन भ्याली बैंक डुब्नुको मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।

बैंकबाट ऋण लिएर क्रिप्टो करेन्सीमा लगानी गरेकाहरूले समयमै ऋण तिर्न नसक्दा बैंक संकटमा पर्दै गएको थियो । विश्वका विभिन्न देशले क्रिप्टोमा गरेको कडाइका कारण यसको मूल्यमा भारी गिरावट आएको छ । जसकारण बैंकबाट ऋण लिएर लगानी गरेकाहरूले समयमै बैंकको ऋण तिर्न सकनेन् । र, बैंक संकटमा पर्दै गयो ।

त्यस्तै, बैंक डुब्नुको अर्को कारण उच्च ब्याजदर वृद्धि पनि हो । अमेरिकी नियामक फेडरल रिजर्भ बैंकले यस वर्ष ४० वर्ष यताकै उच्च ब्याजदर वृद्धि गरेको छ । ब्याजदर वृद्धिले पनि बैंकलाई संकटतर्फ धकेलोको बताइन्छ ।

जब ब्याज दर शून्य प्रतिशत नजिक थियो, त्यो बेला कम जोखिमयुक्त भन्दै धमाधम ट्रेजरी बिल र बन्डमा लगानी गरेका थिए । तर, महँगी नियन्त्रणका लागि भन्दै फेडले लगातार ब्याजदर बढायो । ब्याजदर बढेपछि ट्रेजरी बिलहरूको मूल्य भारी गिरावट आयो । ट्रेजरी बिलहरूको भाउ ह्वात्तै घटेपछि बैंकले अस्वाभाविक घाटा बेहोर्न पुग्यो ।

ब्याजदरले वृद्धिले स्टार्टअप टेक्नोलोजी कम्पनीहरू प्रभावित भए । ती कम्पनीहरूले थप लगानी जुटाउन नसकेर समस्या पर्न थाले । निरन्तर ब्याजदर वृद्धिले स्टार्टअपहरू कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा समेत पुगे । स्टार्टअप कम्पनीहरूले बैंकमा भएको निक्षेप पनि झिक्न थाले यसले बैंकलाई झनै सकंटमा पुर्यायो । यस्तै, स्टार्टअप कम्पनीहरूको सेयरमा आएको गिरावटले पनि बैंक डुब्नुमा सहयोग पुर्यायो ।

बैंक डुब्नुको अर्को कारण बैंक सुन्निनु अर्थात् अस्वभाविक निक्षेप वृद्धि पनि हो । पछिल्लो ३ वर्षको अवधिमा बैंकको निक्षेप झन्डै ३ गुणाले वृद्धि भएको थियो । बैंकका अधिकांश निक्षेपकर्ताहरू आइटी, स्टार्टअप कम्पनीहरू थिए ।

स्टार्टअप कम्पनीलाई प्राथमिकता दिने, इनोभेसनलाई पबद्र्धन गर्ने जस्ता आकर्षक स्कीमले धेरै कम्पनीहरूले बैंकमा निक्षेप राख्न थालेका थिए । विशेषगरी भेन्चर क्यापिटलहरू बैंकका प्रमुख निक्षेपकर्ता मध्येका थिए।

पछिल्ले ३ वर्षमै बैंकको निक्षेप झन्डै ४ गुणाले बढेको थियो । सन् २०१८ मा ४९ अर्ब डलर रहेको बैंकको निक्षेप २०२० मा दोब्बरले बढेर १०२ अर्ब डलर पुगेको थियो। त्यस्तै, २०२१ मा पनि झन्डै दोब्बरले बढर १८९.२ अर्ब डलर पुग्यो ।

निक्षेप अस्वभाविक रुपमा बढेपछि बैंकले पनि अन्धाधुन्ध कर्जा प्रवाह, ट्रेजरी बिल र बन्डमा लगानी गर्न थाल्यो । ब्याजदर वृद्धिले समयमै कर्जा असुली नहुँदा र ट्रेजरी तथा बन्डको भाउ घट्दा बैंकले ठूलो नोक्सानी व्यहोर्न पुग्यो । जसले टाटै पल्टिने अवस्थाम पुर्यायो ।(एजेन्सीको सहयोगमा)

 

नेपालले सार्वजनिक ऋण झन्डै २१ खर्ब पुग्यो, आधाभन्दा बढी विदेशी Read Previous

नेपालले सार्वजनिक ऋण झन्डै २१ खर्ब पुग्यो, आधाभन्दा बढी विदेशी

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा