काठमाडौं । मर्जर प्रक्रियामा रहेका दुई निर्जीवन बीमा कम्पनीले फागुन भित्रै एकीकृत कारोबार सुरु गर्ने भएका छन् । सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।
दुई कम्पनी मर्ज भई ‘सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । यसअघि दुवै कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
त्यस्तै नेपाल बीमा प्राधिकरणले फागुन १६ गते, नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जर हुन अन्तिम स्वीकृति दिइसकेका छन् । सगरमाथा र लुम्बिनी जनरल १००:८० सेयर अनुपातमा मर्ज भएका हुन् ।
मर्जरपछि बनेको कम्पनीको एकीकृत चुक्ता पूँजी २ अर्ब ६२ करोड हुनेछ । मर्जरपछि बन्ने कम्पनीको संचालनक समितिमा दुवै कम्पनीका ३/३ संचालक रहने छन् भने एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।
सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथाका तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहनेछन् ।