मदन भण्डारी लोकमार्गको ८० प्रतिशत काम सम्पन्न

सांकेतिक तस्वीर

पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेटौंडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ ।

 

चतरादेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिला, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४३ किलोमिटर सडक खण्डमा हालसम्ममा ८० प्रतिशतकार्य सम्पन्न भएको पूर्वी सडक डिभिजन प्रमुख इञ्जिनीयर ललितजंग खनालले बताए ।

 

एकसय त्रिचालिस किलोमिटर सडकमध्ये ५० किलोमिटर सडक पूर्णरुपमा कालोपत्र भइसकेको र ८० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य अन्तिमचरणमा पुगेको र बाँकीको पनि कालोपत्र हुन लागेको उहाँको भनाइ थियो ।

 

उक्त सडक खण्डको ४३ पक्की पुलमध्ये ३३ पक्की पुल निर्माण भइसकेको र बाँकी १० पुलको निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्ममा सम्पन्न हुने प्रमुख खनालले बताए ।

 

सो सडक सम्पन्न गर्ने समयावधि आगामी कात्तिक महिनासम्म रहे पनि जेठ भित्रै सम्पूर्ण कार्य सम्पन्न हुने अवस्थामा पुगेको पनि उहाँले जानकारी दिए ।सो पूर्वी खण्डको सडक निर्माण र पुल निर्माणका लागि छ अर्ब रुपैयाँ बजेट उपलब्ध भएकामा चार अर्ब ५० करोड रुपैयाँ सडक निर्माण, कालोपत्र र नाला निर्माणका लागि तथा एक अर्ब ५० करोड रुपैयाँ ४३ वटा पुल निर्माणका लागि छुट्याइएको थियो ।

 

यस्तै उक्त लोकमार्गको पूर्वी क्षेत्र बाहेक सिन्धुलीको भिमान हुँदै हेटौंडासम्मको पश्चिमी क्षेत्रको सडक खण्डमा पनि अहिले ५० प्रतिशत कार्य भइसकेको सो लोकमार्गका योजना प्रमुख राजेश पौडेलले बताए।रासस

साबिकमा भन्दा तिहारमा झन् कम विद्युत खपत, यस्तो छ कारण Read Previous

साबिकमा भन्दा तिहारमा झन् कम विद्युत खपत, यस्तो छ कारण

सुन्दर यातायातले १५ विजुली बस थप्दै Read Next

सुन्दर यातायातले १५ विजुली बस थप्दै