सुन्दर यातायातले मंसिर पहिलो साताबाट थप बस सञ्चालन गर्ने भएको छ । चीनसँग ४ महिनाभित्र बस डेलिभरी हुने सम्झौता भएको सुन्दरले जानकारी दिएको छ ।
सुन्दरले १५ वटा बस र २५ वटा कार ल्याउन लागेको हो । सात वटै बस सञ्चालन गरे लगतै बस लिन सुन्दर चीन जाने योजनामा रहेको छ ।
सुन्दर यातायातका सञ्चालक भेष बहादुर थापाका अनुसार प्रधानमन्त्री केपी ओलीको सहजीकरण पछि सुन्दरले ८० प्रतिशत बैंकिङ लगानीमा बस ल्याउन लागेको हो । झण्डै १६ करोड लगानीमा बस ल्याउन लागेको थापाले जानकारी दिए । सो लगानीको ८० प्रतिशत बैंकको लगानी हुने छ भने २० प्रतिशत निजी क्षेत्रको लगानी रहने छ ।
सुन्दरले यस अघि ७ वटा बस आयात गरि त्यस मध्ये ४ वटा बस चक्रपथ सडक खण्डमा सञ्चालन गरिरहेको छ । बाँकी ३ वटा बस कात्तिक भित्रै सञ्चालनमा ल्याउने थापाले जानकारी दिए ।
उनले मंसिरको पहिलो सातासम्ममा १५ वटाका हाराहारीमा बस सञ्चालनमा ल्याउने बताए ।
‘मंसिर भन्दा पहिलेनै बस गुडाउने लक्ष्य हो । ढिलोमा मंसिरको पहिलो सातामा बस ल्याएर गुडाउने छाैँ,’ थापाले चाणक्य पोष्टसँग भने ।
प्रदेश १ र ५ मा विद्युतीय बस गुडाउन सुन्दरलाई स्वीकृती
प्रदेश १ र ५ ले विद्युतीय बस गुडाउन सुन्दरलाई स्वीकृती दिएको छ । प्रदेश ५ ले विद्युतीय बस सञ्चालन सुरु गरे लगतै बस गुडाउन स्वीकृत गरेको थियो । प्रदेश नम्बर १ मा बस गुडाउन आजबाट स्वीकृत प्राप्त भएको थापाले जानकारी दिए ।
यसैगरी चार्जिङ स्टेशनको व्यवस्था सरकारले मिलाइदिए सुन्दरले ७ वटै प्रदेशमा विद्युतीय बस गुडाउने लक्ष्य राखेको उनले बताए ।