काठमाडाैं । तिहारमा सामान्य समयमा भन्दा पनि कम विद्युत खपत भएको विद्युत प्राधिकरणले जानकारी दिएको छ । सामान्यतः दैनिक १३ सय मेगावाटसम्म विद्युत खपत हुने गरेकोमा तिहारको ५ दिनमा दैनिक ११ सय मेगावाटसम्म मात्र विद्युत खपत भएको प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले बताए ।
उनका अनुसार सामान्य समयमा कम्पनी, कलकारखाना सबै सञ्चालन हुने भएकाले बढि विद्युत खपत हुने गरेको छ । तिहारमा सबै कलकारखाना, कम्पनीहरु बन्द हुने र राती मात्र बत्ती बालिने हुँदा विद्युत कम खपत भएको उनले बताए ।
माग व्यवस्थापन गर्न प्राधिकरण मातहतका आयोजनाबाट ५ सय ४६ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ४ सय ३५ मेगावाट व्यवस्थापन गरिएको थियो भने भारतबाट १ सय ७ मेगावाट आयात गरिएको थियो ।
‘अन्य समयमा कम्पनी, कलकारखना सबै सञ्चालन हुँदा विद्युत धेरै खपत भइरहेको हुन्छ, तिहारमा राती मात्र बत्ती बालिने र सबै कार्यालयहरु बन्द हुने भएकाले विद्युत कम खपत हुने गरेको छ,’ महानिर्देशक घिसिङले चाणक्य पोष्टसँग भने ।
विशेष गरी तिहारको लक्ष्मी पूजाको दिनमा बढी विद्युत खपत हुने गरेको छ । वर्षभर नै सबैभन्दा बढी विद्युत् खपत लक्ष्मी पूजाका दिन हुने गर्दछ । प्राधिकरणले लक्ष्मी पूजाका दिन विद्युत् माग उच्च हुने अनुमान गरेको थियो ।
१ हजार १ सय ९० मेगावाट विद्युत् खपत हुने अनुमान गरे पनि यो पटक ११ सय मेगावाट मात्र विद्युत खपत भएको हो । गत वर्ष लक्ष्मी पूजाका दिन साँझ अधिकतम १ हजार १ सय ५ मेगावाट विद्युत् खपत भएको थियो ।
२०७४ सालको तिहारका बेला देशभरको विद्युत माग १ हजार १ सय ७५ मेगावाटसम्म पुगेको थियो । तर, पछिल्ला दुई वर्षको अवधिमा विद्युत माग ८६ मेगावाटले घटेको छ ।
प्राधिकरणले विद्युत माग व्यवस्थापनका लागि कुलेखानी जलाशययुक्त आयोजना पूर्ण क्षमतामा चलाउने र अपुग विद्युत भारतबाट आयात गर्ने तयारी गरेको थियो ।
प्राधिकरणले देशभरको वितरण प्रणाली सुधार गर्न सबस्टेसनको मर्मत तथा स्तरोन्नति गरेकाले पनि लोड व्यवस्थापन सहज देखिएको छ ।
माग व्यवस्थापन गर्न प्राधिकरण मातहतका आयोजनाबाट ५ सय ४६ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ४ सय ३५ मेगावाट व्यवस्थापन गरिएको थियो भने भारतबाट १ सय ७ मेगावाट आयात गरिएको थियो ।