काठमाडौं । बैंक तथा वित्तीय संस्थाको व्यवसाय सुस्ताएको छ । कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षमा लक्ष्यको एकचौथाई पनि कर्जा लगानी गर्न नसकेका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साढे सात महिना(साउन –फागुन)सम्म बैंक तथा वित्तीय संस्थाहरूले जम्मा १ खर्ब ५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । जुन वार्षिक लक्ष्यको करिब २० प्रतिशतभन्दा कम हो । लक्ष्य अनुसार कर्जा लगानी गर्ने हो भने बैंकहरूले यतिबेलासम्म करिब झन्डै ४ खर्ब कर्जा लगानी गर्नुपर्थ्यो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आवमा निजी क्षेत्रतर्फ १२.६ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएको थियो । सो अनुसार बैंकहरूले चालु आवमा साढे ५ खर्ब ९० अर्ब कर्जा लगानी गर्नुपर्छ । जबकि ८ महिनामै १ खर्ब मात्र ऋण लगानी गरेका छन् । लक्ष्य हासिल गर्न अब ४ महिनामा बैंकहरूले साढे ४ खर्ब कर्जा लगानी गर्नुपर्ने हुन्छ । जुन असम्भव जस्तै देखिन्छ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता केही सहज भए पनि महँगो ब्याज र अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग छैन भने तत्कालै माग बढ्ने अवस्था पनि छैन । कर्जा लगानीको यही अवस्था रहे चालु वर्षमा आधा लक्ष्य पनि भेट्टाउन मुस्किल रहेको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।
पूर्व बैंकर परशुराम क्षेत्री कुँवर उच्च ब्याजदर र माग संकुचनले कर्जा विस्तारको लक्ष्य भेट्न नसकिने बताउँछन् । ‘६ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले ५० प्रतिशत पनि कर्जा लगानी गरेका छैनन्,’ उनले भने, ‘यही अवस्था रहे अब बाँकी अवधिमा लक्ष्य भेट्टाउन सक्छन जस्तो लाग्दैन ।’
गत वर्षको ६ महिनामै लक्ष्यको ६० प्रतिशत कर्जा लगानी गरेका संस्थाहरूले यस वर्ष भने एकचैथाइभन्दा कममा सीमित रहेका छन् । चालु वर्षको दोस्रो त्रैमाससम्म स्रोत अभाव र त्यसयता मागमा आएको संकुचनले बैंक तथा वित्तीय संस्था व्यवसायिक संकटमा छन् । राष्ट्र बैंकको लक्ष्य हासिल गर्न ६ खर्ब स्रोत आवश्यक पर्छ । तर, वित्तीय संस्थासँग एकतिर स्रोत अभाव छ भने अर्कोतर्फ मागमै कमी आएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार मसान्तसम्म ४७ खर्ब १४ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले गत सातासम्म बैंक तथा वित्तीय संस्थाहरूले ४८ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसअवधिमा संस्थाको निक्षेप भने २ खर्ब २३ अर्ब रुपैयाँले बढेको छ । असार मसान्तसम्म ५१ खर्ब ५९अर्ब कुल निक्षेप रहेकोमा हाल ५३ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलन बढे पनि संस्थाहरूले पछिल्लो समय कर्जा लगानी बढाउन नसकेको यस तथ्यांकले पनि देखाउँछ ।
तगारो बन्दै महंगो ब्याज
पछिल्लो एक वर्षमा बैंकको ब्याजदर दोब्बर बढीले बढेको छ । महंगी नियन्त्रण गर्न राष्ट्र बैंकले ब्याजदर वृद्धिको उपकरण प्रयोग गरेपछि निरन्तर बढ्दो कर्जाको ब्याजदर हालसम्म घटेको छैन ।
कर्जाको माग नभएपछि बैंकहरूले गत महिना निक्षेपको ब्याजदर घटाए । तर, बैंकको लागत वृद्धिले आधार दर नघट्दा ऋणीले त्यसको महसुश गर्न पाएनन् । कर्जाको ब्याजदर भने वैशाख पछि मात्र घट्ने देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्षको पुसमा अन्तर बैंक ब्याजदर औसतमा ४.७६ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा ७.४८ प्रतिशत पुगेको थियो । हाल पनि ७ प्रतिशत माथि रहेको छ ।
समीक्षा अवधिमा औसतमा ९.४४ प्रतिशत रहेको कर्जाको ब्याजदर यस वर्ष १२.७९ प्रतिशत पुगेको छ । निक्षेपको औसत ब्याजदर गत वर्ष ६ प्रतिशत रहेकोमा हाल ९ प्रतिशतभन्दा बढी छ ।
गत वर्षको ६ महिनामा औसतमा ८.४२ प्रतिशत आधारदर रहेकोमा हाल १०.९१ प्रतिशत पुगेको छ । ९१ दिने ट्रेजरी बिलको ब्याजदर १०.८९ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा ५.०७ प्रतिशत थियो ।
छैन कर्जाको माग
कोभिडपछि उच्च कर्जा प्रवाहले वित्तीय प्रणालीमा तरलताको समस्या ल्याएपछि वित्तीय संस्थाहरूले लगानी गर्न सकेनन् । अहिले स्रोत भएर पनि माग नभएको बैंकरहरू बताउँछन् ।आर्थिक गतिविधिमा आएको सुस्तताले नयाँ व्यापार व्यवसायहरू अघि बढेका छैनन् । जसको कारण अर्थतन्त्र चलायमान र आर्थिक वृद्धि गर्न टेवा पुर्याउने बैंकिङ क्षेत्र समेत प्रभावित भएको छ ।
प्रणालीमा स्रोत हुँदा माग नहुने र माग बढ्दा स्रोत अभाव हुने वित्तीय संरचना बनेको छ । हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसीयो औसतमा (निक्षेप–कर्जाको अनुपात) ८६.११ प्रतिशत कायम छ । संस्थाहरूले कर्जा लगानी गर्दा ९० प्रतिशत सीडी कायम गर्नुपर्ने व्यवस्था छ । प्रणालीमा करिब २ खर्ब रकम हुँदाहुँदै माग नभएकाले स्थिर बसेको छ ।
भन्सार विभागका अनुसार चालु वर्षको सुरूदेखि घट्दै आइरहेको व्यापार हालसम्म बढेको छैन । माघसम्म आयात २० प्रतिशतले घटेको विभागको तथ्यांक छ । जसले पनि बजारमा वस्तुको मागमा संकुचन आएको देखाउँछ ।
झस्किए बैंक, बढ्यो खराब कर्जा
बैंक तथा वित्तीय संस्था विरुद्ध संगठित रूपमा देशका विभिन्न क्षेत्रमा आन्दोलन भइरहेका छन् । ऋण मिनाहा गर्नु पर्ने, लघुवित्त खारेजीको माग सहित सुरू भएको विरोधले वित्तीय क्षेत्रमै चुनौती सिर्जना गरेको छ । सहकारी र लघुवित्त विरुद्ध सुरू भएको आन्दोलन वाणिज्य बैंकसम्म पुग्ने देखिए पछि बैंकरहरू झस्किएका छन् ।
वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र ऋण नतिर्ने अभियान नै चलाएपछि बैंकहरूले सुरक्षित कर्जा लगानीको लागि पर्ख र हेरको अवस्थामा रहेको एक बैंकरले बताए ।
‘अहिले बैंकसँग स्रोत नभएको होइन । तर, वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिले लगानी जोखिममा पर्छ कि भनेर सचेत हुने अवस्था आएको छ,’ उनले भने, ‘बरु केही समय संस्थामै रकम रहोस भन्ने हाम्रो उद्देश्य हो । अहिले नै लगानी गर्नुपर्छ भन्ने छैन । सुरक्षित रूपमा कर्जा विस्तार गरिरहेका छौं ।’
ऋणीले समयमै रकम भुक्तानी गर्न नसक्दा बैंकको ब्यालेन्ससिट बिग्रिँदै गएको उनले सुनाए । बैंकहरूको खराब कर्जा बढ्दै गएको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकका अनुसार पुससम्म यस्तो कर्जा औसतमा २.४९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा साढे एक प्रतिशतको हाराहारीमा थियो ।मानिसको आम्दानी र उत्पादन क्षमतामा भएको ह्रासले संस्थाहरूको वित्तीय अवस्था अझै खराब हुने यस क्षेत्रका विभिन्न संस्थाहरूले प्रक्षेपण गरेका छन् ।