काठमाडौं । निजी क्षेत्रको लगानीमा बनेको हालसम्मकै ठूलो सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको छ ।
नदी प्रवाहमा आधारीत (आरओआर) ८६ मेगावाटको सो आयोजनाले गत सातादेखि व्यावसायिक उत्पादन थालेको हो । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजनाको मंगलबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।
माघ २७ देखि राष्ट्रिय लाइनमा जोडिएको यो आयोजना स्वदेशी पूँजीमा बनेको निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो भने .नेपालको तेस्रो ठूलो आयोजना हो ।
सोलुखुम्बुको सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी ४ हजार ६७९ मिटर लामो सुरुङमार्ग र १ हजार ९३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका–३ मैकुबेसिमा खसाई ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।
यस आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभीए सोलु करिडोरमा जोडिएको छ । साहास ऊर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको ग्रस हेड ६१३ मिटर छ ।
विसं २०७२ को असोजमा विद्युत् विकास विभागबाट जेनेरेशन लाइसेन्स लिएको कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालीयन कम्पनी सीएमसीडी रिभेन्नाले पाएको थियो ।
सम्झौताअनुसार काम नगरेको भन्दै इटालीयनसँग ठेक्का तोडेर फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो । त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको हो ।
आयोजनाको हाइड्रो मेकानिकलको ठेक्का माछापुच्छे एण्ड मेटल वर्क सप र इलोक्ट्रो मेकानिकलको ठेक्का भाइथ हाइड्रोले लिएको थियो । कुल २५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कुल लागतमा निर्माण सम्पन्न भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको नेतृत्वमा १० बैंकको यस आयोजनामा लगानी छ ।