तिहारमा १५ करोड रुपैयाँकाे फूलको कारोबार, यस्तो छ आयात

काठमाडौं । यो तिहारमा १५ करोड बढी रकमको फूलको कारोबार भएको छ । तिहारमा गत वर्ष जस्तो नेपाली फूलको व्यापार उत्साहजनक हुन नसके पनि कारोबार भने बढेको छ । १३ करोडको फूल कारोबार हुने लक्ष्य राखिएकोमा १५ करोड बढिको फूल कारोबार भएको ‘फ्लोरिकल्चर एशोशिएसन’का (फ्यान) अध्यक्ष कुमार कसजुले जानकारी दिए ।

 

उनका अनुसार तिहारको ५ दिनमा मात्र २४ लाख फूलका माला कारोबार भएका छन् । त्यसमा १८ लाख माला सयपत्री र बाँकी गोदावरी र मखमलीका फूलहरुको माला माग हुने अनुमान गरिएको थियो ।

 

यो पटक भारतीय फूलको मूल्यका कारण नेपाली फूलले बजारमा मूल्य पाउन नसकेको उनले बताए ।

 

‘ग्रामीण किसानहरुले भारतीय मालाका कारण आफ्नो माला बजारमा ल्याएनन् र सोचे जस्तो कारोबार हुन सकेन । कतिपय किसानले फूल खेतबारीमै राखे’ कसजुले चाणक्य पोष्टसँग भने ।

 

यो पटक बजारमा ६० देखि ९० रुपैयाँसम्मका फूलका माला राखिएका कारण नेपाली मालाले बजारमा भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसकेको उनको भनाई छ ।

 

कसजुले तिहारमा २५ लाख मालाको माग रहेकोमा साढे १५ लाख ग्रामीण भेगबाट फूल बजारमा ल्याउने र बाँकी भारतीय र उपत्यकाको मालाले बजार धान्ने अनुमान रहेकोमा भारतबाट सोचे भन्दा बढि फूलका माला आयात भएको बताए ।

 

नेपाली मालालाई बजार दिनका लागि यो पटक फ्यानले धेरै संघर्ष गर्नु परेको थियो । लक्ष्मी पुजाका दिनसम्म भारतीय फूललाई बजारमा नल्याउन विभिन्न धर्ना कार्यक्रम समेत भएका थिए ।

 

उनले प्रत्येक वर्ष ५ प्रतिशतको दरले आयात दर प्रतिस्थापन हुँदै गएको जानकारी दिए । नेपालमा प्रत्येक दिन २० हजार मालाको माग रहेको छ ।

 

फूल आयात दर बढ्दो

 

गत वर्ष ११ करोडको फूलको कारोबार भएको थियो । गत वर्ष तिहारमा २२ लाख फूलमाला कारोबार भएको थियो ।

 

चालु आर्थिक वर्षको भदौ महिनासम्ममा ३ करोड ५५ लाख १२ हजार रुपैयाँ बराबरको फूल तथा फूलका विरुवाहरु आयात भएका थिए ।

 

गत आर्थिक वर्ष २०७५/७६ मा कुल २० करोड ९२ लाख ५८ हजार रुपैयाँ बराबरका फूल तथा फूलका विरुवाहरु आयात भएका थिए ।

 

आर्थिक वर्ष २०७४/७५ मा कुल ११ करोड ६२ लाख ७ हजार रुपैयाँँ बराबरको फूल तथा विरुवा आयात भएका थिए ।

 

काठमाडौंमा मालाको सबैभन्दा बढी खपत

 

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । गत बर्ष आयात र निर्यात गरी वार्षिक दुई अर्ब ४२ करोडको फूलको कारोवार भएको थियो ।

 

तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

 

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको छ ।

 

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४ सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ ।

 

यो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले फुलको व्यवसायिक खेती गर्दै आएका छन् ।

 

नेपालमा वि.सं. २००७ देखि शुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्यगरी काठमाडौँ उपत्यकामा मात्रै ३ सय व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।

बिटकोइन कारोबारबाट बनेका विश्वकै कान्छा करोडपति Read Previous

बिटकोइन कारोबारबाट बनेका विश्वकै कान्छा करोडपति

सूर्य लाइफ इन्स्योरेन्सको ३ लाख ९ हजार कित्ता सेयर लिलामीमा Read Next

सूर्य लाइफ इन्स्योरेन्सको ३ लाख ९ हजार कित्ता सेयर लिलामीमा