१० चिया उत्पादक कम्पनी चीनमा पुरस्कृत

काठमाडौं । नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टी मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा यी पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूना सङ्कलन गरी बोर्डमै भएको टेस्टिङ (चियाको स्वाद एव गुणस्तर परीक्षण)का आधारमा १६ वटा चियाका नमूना प्रतिस्पर्धाका लागि चीन पठाएको थियो ।

यसअनुसार एक तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडले पर्ल गोल्डेन ब्ल्याक टी अवार्ड प्राप्त गरेको छ । यसैगरी फार्मर टी प्रोसेसिङ उद्योगको एफटी हिमालय गोल्ड, हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको साङ्ग्रिला गोल्ड, गोरखा टी स्टेट प्रालि जिटिइ गोल्डेन टि, सिद्धा डेभी टी इस्टेट प्रालिको सिल्भर विङ्स र कञ्चनजङ्गा अग्र्यानिक अर्थोडक्स चिया उद्योग प्रालिको गोल्डेन टिप्स चियाले स्वर्णपदक जितेका छन् ।

यसैगरी हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको हिमालयन सन्राइज ब्यूटी, श्री बराह टी इन्डष्ट्रिको स्पेशल ब्ल्याक टी, तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडको नर्मल गोल्डेन ब्ल्याक टी र मैना पोखरी चिया प्रशोधन उद्योगको एमपी १० मिरमिरेले रजतपदक प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कअनुसार नेपालमा १६ हजार नौ सय १७ हेक्टरमा चिया रोपिएको र त्यसबाट २३ हजार ७४५ मेट्रिकटन चिया उत्पादन गरिएको छ । हाल १७ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध छन्।

नेपालबाट गत आवमा रू ३ अर्ब ७९ करोड ७१ लाख बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । नेपाली चिया गुणस्तरमा अब्बल रहँदारहँदै पनि उचित बजारीकरण हुन नसक्दा अति नै न्यून मूल्यमा बिक्री गर्नु परिरहेको कार्यक्रममा किसानले गुनासो गरे । नेपालबाट वार्षिक रू १० अर्बभन्दा बढीको चिया निर्यातको सम्भावना छ ।

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने घोषणा Read Previous

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने घोषणा

नारी दिवसको अवसरमा नर्भिक हस्पिटलका सेवामा छुट Read Next

नारी दिवसको अवसरमा नर्भिक हस्पिटलका सेवामा छुट