काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (साउन– फागुन १९ सम्म) मा ५१९ मेगावाट क्षमताका जलविद्युत् आयोजनाले निर्माण अनुमति पाएका छन् । विद्युत् विकास विभागले ५१९ मेगावाट क्षमताका १७ आयोजनालाई निर्माण अनुमति दिएको हो ।
आयोजना निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका आयोजनाहरुलाई निर्माणको अनुमति दिइएको विभागले जनाएको छ । यस्तै, विभागका अनुसार सोही अवधिमा २३६३ मेगावाट क्षमताका ४८ आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् ।
निर्माण अनुमति पाउनेमा ३ मेगावाट विद्युत् उत्पादन क्षमतादेखि ७७ मेगावाटसम्मका छन् । सबैभन्दा ठूलो घुन्सा खोला जलविद्युत् आयोजना ७७.५ मेगावाट क्षमताको रहेको छ । यस आयोनाले विभागबाट गत साउन ८ मा निर्माण अनुमति पाएको थियो । ताप्लेजुङको लेलेमा घुन्सा खोलामा यस आयोजनाको निर्माण रेमिट् हाइड्रोपावर कम्पनीले गरिहरेको छ ।
७०.३ मेगावाटको सिम्भुखोला हाइड्रोपावरले गत साउन २३ मा निर्माण अनुमति पाएको विभागले जनाएको छ । यो आयोजना ताप्लेजुङकै सिम्भुवा खोलामा सिम्भु रेमिट् हाइड्रोपावरले गरिहरेको छ ।
६५ मेगावाट विद्युत् उत्पादन क्षमताको दूधखोला हाइड्रोपावरले निर्माण अनुमति पाएको छ । गत साउनमै अनुमति पाएको यस आयोजनाको निर्माण सीता हाइड्रोपावर कम्पनीले गरिरहेको छ । यो आयोजना मनाङको थोचेस्थिति दूधखोलामा निर्माण भइरहेको छ । 
रुकुमको जिल्गडामा बन्ने २१ मेगावाटको हाइड्रो आयोजनाले गत भदौमा निर्माण अनुमति पाएको छ । यसको निर्माण सांग्रीला हाइड्रोपावरले गरिरहेको छ । नुवाकोटको टुप्चेस्थित त्रिशुली नदीमा बन्ने १५.६२५ मेगावाट क्षमताको मध्य त्रिशूली गंगा नदी आयोजनाले अनुमति पाएको छ ।
त्यसैगरी, कास्कीमा बन्ने ४३ मेगावाटको अपर मार्दि हाइड्रोपावर, रसुवा जिल्लामा १३ मेगावाट विद्युत् उत्पादन क्षमता भएको मध्ये मौलुङ खोला, २१ मेगावाट विद्युत् उत्पादन क्षमताको ओखलढुंगाको आयुमलुङ हाइड्रोपार, ताप्लेजुङको अपर काबेली २, पालुङ खोला १, रुकुमको स्याफ्रु हाइड्रोपावरले निर्माण अनुमति पाएका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी १ हाइड्रोपावर, सोलुखुम्बुको लुजाखोला, भोजपुरको अपर पिखुवा खोला, रुकुमको सानी भेरी र ताप्लेजुङको सिवाखोला हाइड्रोपावरलाई विभागले निर्माण अनुमति दिएको छ ।
निर्माण लाइसेन्सका लागि ४८ आयोजनाको आवेदन
विभागका अनुसार यस अवधिमा ४८ आयोजनाले निर्माण अनुमतिको लागि आवेदन दिएका छन् । २३६३ मेगावाट विद्युत् उत्पादन क्षमता भएका आयोजनाले निर्माण अनुमति मागेका हुन ।
निर्माणको लाइसेन्सका लागि आवेदन दिनेमा सबैभन्दा कम क्षमता भएको १.६ मेगावाटको लोडो खोलो साना हाइड्रोपावर रहेको छ भने ठूलो ६५० मेगावाटको तामाकोसी ३ छ ।
४१७ मेगावाट क्षमताको नलस्योगाड स्टोरेज हाइड्रोपावर, १५९ को मुगु कर्णाली, १५० को बेगनास रुपा रुटोरेज हाइड्रोपावरले निर्माणका लागि अनुमति मागेका छन् ।
