भैरहवा भन्सारमा थन्किए १ हजार २३२ नयाँ गाडी, जाँचपास नगर्दा पार्किङमा समस्या

बेलहिया । आयातकर्ताले आयात गरेका साना-ठूला सवारीसाधन समयमै जाँचपास प्रक्रियामा नलग्दा भैरहवा भन्सार कार्यालयको पार्किङस्थलमा समस्या सिर्जना भएको छ ।

नयाँ सवारीसाधनले यतिबेला भन्सारको एउटा यार्ड नै भरिएको भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए । ‘नयाँ सवारीसाधन आयातकर्ताले जाँचपासको प्रक्रियामा लगेका छैनन्, हामीले छिटो जाँचपास गराउन ताकेता गरेका छौँ ।’

बेलहियामा आइसिपीको निर्माण कार्य सुरु भएको छ । जसले गर्दा मालवाहक सवारीसाधन सडकमा राखेर जाँच गर्नुपर्ने बाध्यतासमेत सिर्जना भएको छ । एकातिर आइसीपीको निर्माण कार्यले पार्किङको समस्या गरिरहेको छ भने अर्कातिर आयातकर्ता समयमै भन्सार प्रक्रियामा सहभागी नहुँदा पार्किङमा थप समस्या भएको हो ।

आयातकर्ताले भन्सार जाँचपास गराएर सवारीसाधन समयै ननिकाल्दा भन्सार परिसर नयाँ गाडीले भरिभराउ देखिएको छ । अत्यधिक मात्रामा सवारीसाधन थन्किएपछि भन्सार परिसरमा पार्किङको समस्या भएको हो । यसबाट मालवाहक गाडी आवागमन र पार्किङमा समेत समस्या भइरहेको छ ।

भैरहवा भन्सारका सूचना अधिकृत उपेन्द्र लामिछानेले नयाँ गाडी थुप्रिएर पार्किङस्थलको अभाव हुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने अवस्था आएको र भन्सारले यसको व्यवस्थापनका लागि सम्बन्धित आयातकर्ता र भन्सार विभागसँग पनि छलफल अघि बढाएको बताए।

गाडी बिक्री नभएका कारण देखाएर कम्पनी वा डिलरलाई पैसा दिनु नपर्ने, गाडी छुटाएर लैजाँदा लाग्ने राजस्वको ब्याज बच्ने जस्ता कारणले आयातकर्ताले बिक्री भइसकेपछि मात्रै गाडी भन्सार पार्किङबाट लैजाने प्रचलन छ ।

भन्सारमा पार्किङमा राखिएका सवारीसाधन छुटाएर लैजान भैरहवा भन्सार कार्यालयले यो नाकाबाट सवारीसाधन आयात गर्ने मुख्य आयातकर्ताका प्रतिनिधिसँग पटक–पटक आग्रहसमेत गरेको छ ।

कम्पनीका प्रतिनिधिले भने तत्काल सवारीसाधन जाँचपास गराएर लैजान सक्ने अवस्था नरहेको प्रतिक्रिया दिने गरेका छन् । आयातकर्ताले आर्थिक समस्या देखाउने गरेको अधिकृत लामिछानेले बताए ।

सवारीसाधन जाँचपास गराएर काठमाडौँमा भाडाको गोदाम राख्दा लाग्ने खर्च र त्यसका लागि तिर्नुपर्ने ब्याजभन्दा भन्सारमा पार्किङ शुल्क तिरेर राख्ने लागत निकै कम हुने भएकाले उनीहरूले यसो गरेको हुनसक्ने जानकारहरू बताउँछन् । सडकमा मालवाहक गाडी रोकेर जाँचपास गर्दा धेरै समस्या भइरहेको स्थानीयवासी अर्जुन गिरीले बताए ।

आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलरभन्दा महँगा डिजल तथा पेट्रोल गाडी आयातमा प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध सरकारले पछि हटायो । आयातकर्ताले प्रतिबन्ध लाग्नुपूर्व पुरानै एलसीबाट भारत तथा तेस्रो मुलुकबाट आयात गरेका सवारीसाधन ल्याएर पार्किङ गरिराखेका हुन् ।

भन्सार परिसरमा टाटा, इसुजु, न्यू होलेण्ड, इन्डो फार्मलगायतका कम्पनीका १ हजार २३२ बस, कार, जिप र ट्र्याक्टर प्रज्ञापनपत्र जारी नगरी भन्सारमा रोकिएका छन् । १९३ दिन कटेका ७७८ गाडी छन् भने एक वर्ष बढी भएका ८८ गाडी छन् । बाँकी भएका अधिकाशं गाडी ६० दिन कटेका छन् । त्यस्ता सवारीले दैनिक रु ३९० का दरले पार्किङ शुल्क बुझाउने गरेका छन् ।

मुलुककै दोस्रो सर्वाधिक राजस्व सङ्कलन गर्ने भन्सारका रूपमा चिनिने भैरहवा भन्सार कार्यालयले पछिल्ला महिनामा लक्ष्यअनुरूप राजस्व सङ्कलन गर्न सकेको छैन । भन्सारको राजस्वमा मुख्य योगदान नयाँ सवारीसाधन र इन्धनको छ । नयाँ सवारीसाधन जाँचपास घटेपछि त्यसको नकारात्मक असर राजस्व असुलीमा देखिएको छ ।

अहिले नयाँ सवारीको प्रज्ञापनपत्र जारी गर्दा २३५ देखि ३१६ प्रतिशतसम्म भन्सार महसुल बुझाउनुपर्छ । तर व्यापारीले जाँचपास नगरी गाडी भन्सारको पार्किङमा होल्ड गर्ने र माग भएपछि मात्र प्रज्ञापनपत्र जारी गर्ने गरेका छन् ।रासस

'ऋण तिर्दिनँ भन्नु अराजकता हो, त्यस्ता गतिविधि राज्यले बेलैमा नियन्त्रण गरोस्' Read Previous

'ऋण तिर्दिनँ भन्नु अराजकता हो, त्यस्ता गतिविधि राज्यले बेलैमा नियन्त्रण गरोस्'

५१९ मेगावाटका १७ हाइड्रोले पाए निर्माण अनुमति, ४८ आयोजना लाइसेन्स कुर्दै Read Next

५१९ मेगावाटका १७ हाइड्रोले पाए निर्माण अनुमति, ४८ आयोजना लाइसेन्स कुर्दै